Butwal Today

सुदूरपश्चिमका प्रदेश प्रमुखको कदमविरुद्ध कांग्रेस र नाउपा अदालत जाने

४ बैशाख २०८१, मंगलवार
अ+
अ-

धनगढी,४ बैसाख । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँको कदमविरुद्ध नागरिक उन्मुक्ति पार्टी नाउपाका प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरी अदालत जाने भएका छन् ।
मुख्यमन्त्रीमा दाबी पेश गरेका चौधरीले धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रदेश प्रमुखले संविधान विपरीत कदम चालेको भन्दै अदालत जाने बताएका हुन् ।

मुख्यमन्त्रीमा दाबी पेश गरेका दुवै जनाको दाबी नपुगेको भन्दै प्रदेश प्रमुख मियाँले मंगलबार संविधानको धारा १६८ दुई अनुसार सरकार गठनका लागि दुई दिनको समय दिएर पुनः आह्वान गरेका छन् ।

प्रदेश प्रमुखले आह्वान गरे लगत्तै कांग्रेस र नाउपाले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै निर्णय सच्याउनुपर्ने माग गरेका छन् ।

कामचलाउ सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुखले चालेका कदम सच्याउनुपर्ने अन्यथा कडा रूपमा अघि बढ्ने चेतावनी दिएका छन् ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी, रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरी र रञ्जिता श्रेष्ठ चौधरी पक्षका कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

लक्ष्मणकिशोरले नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा दाबी पेश गरेका थिए । कैलाशले एमाले र माओवादी केन्द्रको समर्थनमा दाबी पेश गरेका थिए । दावी पेश गर्दा लक्ष्मणकिशोर चौधरीको पक्षमा स्पष्ट वहुमत भएको उक्त पक्षको दावी छ ।

तर, केन्द्रमा सत्ता गठबन्धनबीच मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भएपछि मंगलबार एकीकृत समाजवादीले लक्ष्मणकिशोरलाई गरेको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखलाई बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?