Butwal Today

विश्वदीपले पनि छाडे बाबुरामको साथ

३ बैशाख २०८१, सोमबार
अ+
अ-

काठमाडौं,३ बैसाख । नेपाल समाजवादी पार्र्टीका अध्यक्ष बाबुराम भट्टराईका निकट नेता एवं राजनीतिक समितिका सदस्य विश्वदीप पाण्डेले बाबुरामको साथ छाडेका छन्।

सामाजिक सञ्जाल एक्समा लेख्दै विश्वदीपले साधारण सदस्यसमेत नरहनेगरी नेपाल समाजवादी पार्टीमा नरहेको घोषणा गरेका हुन्।

उनी माओवादीको सशस्त्र युद्धकालदेखि नै बाबुराम भट्टराईको स्वकीय सचिव थिए। पछिल्लो समय सरकारमा जाने विषयमा पार्टीमा दुई धार हुँदै विभाजनसम्म पुग्दासम्म उनी भट्टराईकै साथमा थिए।

उनी नेसपा र माओवादी एक हुनुपर्ने पक्षमा थिए। उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफ्ना अध्यक्ष भट्टराईबीच भेटवार्ताको वातावरण समेत मिलाएका थिए।

गत चैत ३ गते नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगा नारायण श्रेष्ठलगायतले पार्टी फुटाएर माओवादी केन्द्रसँग एकता गर्ने सहमति गर्दा पनि विश्वदीप बाबुरामकै पक्षमा थिए।

तर एक महिनापछि सोमबार उनले बाबुरामको साथ छोडेको घोषणा गरेका हुन्। यसअघि बाबुरामका अति निकट मानिएका देवेन्द्र पौडेल, गंगानारायण श्रेष्ठ, प्रभु शाह लगायतले पनि बाबुरामको साथ छाडेका थिए ।

पाण्डे माओवादी केन्द्रमा फर्किएका छन्।

पाण्डेलाई सोमबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका छन् ।