Butwal Today

लुम्बिनीमा १७ महिनापछि संसदीय समितिले पूर्णता पाउंदै

३ बैशाख २०८१, सोमबार
अ+
अ-

दाङ,३ बैसाख । लुम्बिनी प्रदेशमा आज संसदीय समितिले नेतृत्व पाउने भएको छ । करिब १७ महिनापछि संसदीय समितिको सभापति चयन प्रक्रिया अघि बढाईएको छ ।

आज दिउँसो एक बजे बोलाइएको प्रदेश सभा बैठकमा संसदीय समितिको सदस्य हेरफेर गरिने प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले बताए ।

एमालेलाई ३, माओवादीलाई २ वटा र नेपाली कांग्रेसलाई दुई वटा समितिको नेतृत्व दिने गरी दलहरूबिच समझदारी भैईसकेको छ ।

एमालेले अर्थ, उद्योग तथा पर्यटन समिति, भौतिक पूर्वाधार समिति र विशेष अधिकार समितिको नेतृत्व पाउने भएको छ । माओवादीले सामाजिक विकास समिति र प्रदेश मामिला तथा कानुन समितिको नेतृत्व पाउने सहमति भएको छ ।

यस्तै, नेपाली कांग्रेसले सार्वजनिक लेखा समिति र कृषि समितिको नेतृत्व पाउने भएको छ । लुम्बिनी प्रदेशमा रहेका ६ वटा विषयगत समिति र विशेष अधिकार समिति रहेका छन ।

पहिलो, दोस्रो र तेस्रो अधिवेशनमा टुंगो लगाउन नसकेपछि अहिले चौथो अधिवेशनमा यसलाई टुंगो लगाउने गरी दलहरूले भागबन्डा टुङ्गाएसँगै सभापति चयन प्रक्रिया अघि बढाइने भएको हो ।