Butwal Today

उजिर सिंह थापा स्मृति अन्तर्राष्ट्रिय रेटिङ बुद्धिचाल शुरु

पहिलो दिन पहिलो चरणको खेलमा ८० बढी खेलाडीहरु विजयी हुदै अंक जोड्न सफल भएका छन । प्रतियोगिता नौ चरणको लिग खेल खेलाइने छ ।
२५ चैत्र २०८०, आइतबार
अ+
अ-

बुटवल, २५ चैत । बुटवल उपमहानगरपालिकाको सहयोगमा कर्नेल उजिर सिंह थापा स्मृति अन्तर्राष्ट्रिय रेटिङ बुद्धिचाल प्रतियोगिता शुरु भएको छ । नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनको उपस्थितिमा सम्पन्न पहिलो चरणका खेलमा टप सिडेड बंगलादेशी सिएम जमाल उदिन, नेपालका एफएम रुपेश जैसवाल, भारतका राघव श्रीवास्तव, अमेरिकन खेलाडी वेभर सिया, भारतका मिथिलेस श्रीवास्तव, नेपालका सिएम कृष्णथापा, भारतका डब्लू एफएम ब्रिष्टी मुखर्जी, एसिएम रिहान्स पाण्डे,एआइएम दिपाञ्जलीले आफ्नो पहिलो जीत संगै १ /१ अंक जोड्न सफल बनेका छन् ।

यसैगरि बुटवलका महिला राष्ट्रिय खेलाडी नमन सेढाई, शिखर रेग्मी, विसनमान थैव, सिएम पुरुषोत्तम चौलागाईं, सिएम सजिन महर्जन, राजेन्द्रप्रसाद श्रैष्ठ, सुरज महर्जन, अशोक मोहन श्रेष्ठ, पुरुषोत्तम सिलवाल, सुदिप तामाङ लगायत ७६ जनाले १/१ अंक बनाई राम्रो शुरुवाट गरेका छन् ।

कार्यक्रमको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले शनिबार उदघाटन गर्दै ईष्ट ईन्डिया कम्पनीको शैन्य समूहसंग सामान्य हतियार कै भरमा पराजित गरेका कर्नेल उजिर सिंह थापाको स्मृतिमा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता गर्नु बुटवलबासीको गर्वको विषय भएको बताए । खेल विकासमा पालिकाबाट योजनाबद्ध कार्यक्रमहरु अघि बढाएको उनले दाबी गरे ।

कार्यक्रममा प्रतियोगिता संयोजक माधव प्रधानले बौद्धिक खेल पछि परेको बेला स्थानिय पालिकाको सहयोगमा आयोजना गरेर फेरि जगाउने अभियान थालेको बताए । प्रतियोगिताका उपाधी विजयी खेलाडीले नगद रु २ लाख पुरस्कार प्राप्त गर्ने बताए । प्रतियोगिताको द्वितीयले रु. १ लाख १० हजार, तृतीयले ६० हजार, चौथो ४० हजार र पाँचौ स्थानमा आउनेले ३० हजार नगद पुरस्कार हात पार्ने बताए । कूल ५० जना खेलाडीहरुले बिसौं स्थान र विभिन्न विधा अन्तर्गत जम्मा नगद १० लाख १ हजार रुपैया, आकर्षक ट्रफि, प्रमाणपत्र प्राप्त गर्ने छन् ।

अन्तर्राष्ट्रिय प्रतियोगिताका अन्तर्राष्ट्रिय आर्विटर निरञ्जन प्रजापति, नेपाल बुद्धिचाल महासंघका केन्द्रीय सदस्य राजु ताम्राकारले खेलकुद प्रतियोगिताको महत्वबारे प्रकाश पारे ।

चैत २७ गते चल्ने प्रतियोगिताा रेटिङ समूह २ हजार मूनिको अन्तर्राष्ट्रिय मेयर कप चेस खेलमा नेपाल लगायत अमेरिका, भारत र बंगलादेशका कूल २०० जना अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागीता रहेको छ ।