Butwal Today

आयरल्यान्ड वुल्भ्सले दियो नेपाल ‘ए’ लाई २२३ रनको विशाल लक्ष्य

१६ चैत्र २०८०, शुक्रबार
अ+
अ-

 काठमाडौँ । 

नेपाल भ्रमणमा रहेको आयरल्यान्ड वुल्भ्सले टी–२० सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ टोलीसामु जितका लागि २ सय २३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल ए टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आयरल्यान्ड टोलीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय २२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको हो।

दोस्रो विकेटका लागि ओपनर पिटर मुर र केड कारमिचेलले ८८ रनको साझेदारी गरेपछि नेपालले विशाल लक्ष्य पाएको हो।

२९ बलमा ४ चौका र १ छक्का हान्दै ३८ रन बनाएका केडलाई १० औँ ओभरको अन्तिम बलमा सागर ढकालले एलबीडब्लु धरापमा पार्दै साझेदारी तोडेका थिए।

अर्का ओपनर पिटर मुर अर्धशतक बनाउनबाट चुके। ३२ बलमा ४ चौका र ३ छक्का हानेका पिटर ४९ रन बनाउँदा आरिफ शेखको बलमा बोल्ड आउट भए।

गाभिन होए १८ र ग्यारेथ डिलानी ३० रनमा अविजित रहे।

कप्तान निक रक ३८ रन बनाउँदा क्याच आउट भए। २३ बलमा १ चौका र ३ छक्का हानेका निकलाई कमलले नै पेभेलियनको बाटो देखाए।

आयरल्यान्डले पहिले विकेटका रुपमा ओपनर रोस अडाएरलाई २ रनमै गुमाएको थियो।

स्टेफन डोहेने ३४ रन बनाउँदा कमल ऐरीको बलमा सागर ढकालको हातबाट क्याच आउट भए।

आयरल्यान्डविरुद्धको खेलबाट नेपाली टोलीमा पुनरागमन गरेका कमलले आफ्नो पहिलो ओभरमा नै ओपनर रोस अडाएरलाइ पेभेलियनको बाटो देखाएका थिए।

सन् २०२२ मा मलेसियाविरुद्धको खेलमा घाइते भएका कमल ए टोलीमा स्थान बनाउँदै टोलीमा फर्किएका हुन्।

नेपालका लागि कमल सिंह ऐरिले ३ विकेट लिए। सागर ढकाल र आरिफ शेखले समान एक विकेट आफ्नो नाममा गरे।