© 2026
गुल्मी, १५ चैत । जिल्लाको मुसिकोट नगरपालिकाको बडिगाढ खोला अन्तर्गत झेँदीमा पुल बन्ने आशै आशामा सात वर्ष बितिसकेको छ । २०७३ सालमा तत्कालिन जिल्ला प्राविधिक कार्यालय गुल्मी मार्फत वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालीले पाँच करोड १७ लाखको लागतमा झेँदीमा पक्की पुल निर्माणको सम्झौता गरेको थियो । पुल निर्माणको क्रममा दुई पटकसम्म निर्माणको अन्तिम चरणमा पुल भाँचिएपछि सात वर्षसम्म पुल निर्माण हुन नसक्दा त्यस क्षेत्रका नागरिकहहरूले बर्षौंदेखि समस्या भोग्न बाध्य छन ।
दुइ पटकसम्म ढलान गर्दै गर्दा भाँचिएको पक्की पुलको यतिबेला डिजाईन परिवर्तन गरी तेश्रो पटक पुन निर्माण कार्य शुरु गरिएको छ । डिजाईन परिबर्तनपछि स्टल ट्रस ब्रिज निर्माणको काम शुरु गरिएको छ । मुसिकोट नगरपालिका अन्तर्गत वामीको वडा नं.७ र बगागाउँको वडा नं.३ अन्तर्गत बडिगाढको झेँदीमा उक्त पुल निर्माण शुरु भएको होे । गुल्मीको मुसिकोट नगरपालिकाको झेँदीमा निर्माण हुन लागेको उक्त पुल वडागाउँ र वामी जोड्ने पालिकाको मुख्य द्वार मानिन्छ । लामो समयसम्म पनि पुल निर्माण नहुँदा त्यस क्षेत्रका मानिसहरू कहिले पुल निर्माण होला भनेर प्रतिक्षामा बसिरहेका छन । पुल निर्माण कार्य अन्तिम चरणमा पुग्न लाग्दा विगतमा दुई पटकसम्म भाँचिएको झेँदी पुलको पुन : डिजाइन परिवर्तन गरेर यस पटक स्टिल ट्रस ब्रिज निर्माण गर्न लागिएको हो ।
स्वीस सरकारको चार करोड १४ लाख ४४ हजार सात सय २२ रूपैयाँको आर्थिक सहयोगमा गत वर्षदेखि जलप कन्ट्रक्सन प्रालिले निर्माणको काम गरिरहेको मोटरयोग्य सडक पुल कार्यक्रम (एमएलआरबिटि ) ललितपुरका टेक्निकल अधिकृत धिराजा पौडेलले जानकारी गराएका छन । आगामी असार मसान्तसम्म पुल निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । निर्माण व्यवसायीले निकै सक्रियताका साथ काम अगाडि बढेको हुँदा समयमै काम सम्पन्न हुनेमा आफूहरू आशावादी भएको पौडेलले बताए । सम्झौता गरेपछि पनि पुलको डिजाइन केही संसोधन गर्नुपर्ने भएका कारण काममा केही ढिला भएको बताए ।
अहिले पुलको फाउण्डेशन निर्माण सहित अन्य निर्माणका कामहरू भइरहेको छ । बडिगाढ खोलाको झँेदीमा निर्माण हुन लागेको पुलको लम्बाई ५६.३० मिटर रहेको छ । अहिले स्टिल ट्रस ब्रिज निर्माण हुँदैछ । बडिगाढको झेँदी खोला पुल ०७३ सालमा तत्कालिन जिल्ला प्राविधिक कार्यालय गुल्मी मार्फत वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालीले पाँच करोड १७ लाखको लागतमा पुल निर्माणको जिम्मा लिए पनि दुई पटक पुल भत्कीदा उक्त पुल अलपत्र परेको थियो । अहिले डिजाइननै परिवर्तन गरेर काम शुरु भएपछि बैशाखसम्म ट्रसको काम सकेर ढलान गर्ने योजना रहेको जलप कन्स्ट्रक्सनका सुपरभाइजर मोतिलाल शर्माले जानकारी दिएका छन । मुसिकोट नगरपालिकाका प्रमुख जिवलाल खरेल जीवनले यस पटक झेँदीमा पुल निर्माण हुनेमा आफू ढुक्क रहेको बताए । उनले ठूलो मेहेनत गरेर पुलको डिजाइन परिवर्तन गरेपछि काम शुरु भएको भन्दै कामले गति लिएको बताएका छन । दुइ पटकसम्म भाँचिएको उक्त पुलले अब तेश्रो पटकमा भने पक्कै पूर्णता पाउने छ भन्नेमा यस क्षेत्रका नागरिकहरू आशावादी बनेका छन् ।