Butwal Today

उम्मेदवारको टुंगो लगाउन महामन्त्री विश्वप्रकाश इलाम २ मा

१२ चैत्र २०८०, सोमबार
अ+
अ-

काठमाडौं,१२ चैत । इलाम २ को उपनिर्वाचनमा उम्मेदवारको टुंगो लगाउन कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचन क्षेत्रमा पुगेका छन् । इलाम २ मा कांग्रेसबाट ७ जनाको नाम सिफारिस भएको छ । क्षेत्र, जिल्ला प्रदेश तीनै तहबाट सिफारिस भएर आइसकेपछि उम्मेदवार तोक्नुअघि कसको लोकप्रियता कति छ भन्ने धरातल बुझ्न महामन्त्री शर्मा त्यहां गएका हुन् ।
कांग्रेसबाट महासमिति सदस्य भेषराज आचार्य, पूर्वसांसद केशव थापा, जिल्ला सभापति डम्बर खड्का, संविधानसभा सदस्य नगेन्द्र कुमाल, नेता रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम सिफारिस भएको छन्।

प्रदेश कमिटीबाट नाम आइसकेकाले अब संसदीय बोर्डको बैठक बसेर उम्मेदवार टुंग्याउने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
जित सुनिश्चित गर्नका लागि रियल ग्राउण्डबाट आएको व्यक्तिलाई नै पार्टीले टिकट दिने उनको भनाइ छ। उनका अनुसार इलाम २ को जनभावना बुझ्नका लागि महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री आङ्दाम्बे खटिएका छन्।

उनले महामन्त्री र सहमहामन्त्री वस्तुस्थिति र यथार्थ बुझेर इलामबाट फर्केपछि मात्रै पार्टीले उम्मेदवार टुंग्याउने बताए। गत निर्वाचनमा एमालेका सुवास नेम्वाङले ३० हजार २० मत ल्याउँदा कांग्रेसका डम्बरबहादुर खड्का २९ हजार ९०६ मत ल्याएका थिए।

त्यसबेला कांग्रेसलाई माओवादी, नेकपा एस, जसपाले पनि साथ दिएको थियो। भने, रास्वपाका प्रकाश सापकोटाले १ हजार ३८० मत मात्रै ल्याएका थिए। त्यहाँ अहिले एमालेले सुवास नेम्वाङका कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। रास्वपासहित अन्य दलहरुले पनि आन्तरिक तयारी गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?