Butwal Today

बचत फिर्ताको लागि दवाव दिन संघसंस्था धाउँदै सुप्रिम सहकारीका पीडितहरु

११ चैत्र २०८०, आइतबार
अ+
अ-

बुटवल, ११ चैत ।

सुप्रिम बचत तथा क्रृण सहकारी संस्थाबाट ठगिएकाहरु आफ्नो रकम उठाउन बुटवलका संघसंस्था धाउन थालेका छन् । राजमार्ग चौराहामा अवस्थित सुप्रिम बचत तथा क्रृण सहकारीका बचतकर्ताहरु रुपन्देही ब्यापार संघ र बुटवल उद्योग बाणिज्य संघमा पुगेरै आफ्ना पिडाहरु राखेका हुन् ।

बिगत डेढ बर्षदेखि आफ्ना बचत रकम सुरक्षित गर्न र फिर्ता पाउन स्थानीय, प्रदेश र केन्द्रीय सरकारसमक्ष ढोका ढक्कढकाउँदै हिडिरहेका उनीहरु रकम फिर्ता हुने आशामा संघ संस्था धाउन थालेका हुन् ।

बुटवलका अधिकांश ब्यवसायीहरुको रकम बचत गरिएकोले रकम उठाउन पहल गर्न उनीहरुले बुटवल उद्योग बाणिज्य संघ र रुपन्देही ब्यापार संघलाई दवाव दिएका हुन् । सहकारी ठगी काण्डमा जो सुकै मुछिएको भएपनि सबै दोषीहरुलाई कारबाही गर्न उनीहरुले माग गर्दै आएका छन् ।

बुटवलको अमरपथका व्यवसायी अशोक श्रेष्ठले रकम फिर्ताका लागि संघसंस्थाहरुले दवाव दिनु पर्ने र सरकारले सहकारी ठगीमा सबैलाई कारवाही गर्नुपर्ने बताए । त्यस्तै बुटवलकै रोहित थापाले सहकारीमा आफ्नो साढे चार लाख रुपियाँ बचत रहेको भन्दै रकम डुब्ने चिन्ता लागेको बताए ।

अर्का बचतकर्ता गुलाव आलमले पक्राउ पर्न बाँकी रहेकाहरूलाई समेत पक्राउ गरेर आफूहरूको रकम फिर्ता हुनुपर्ने बताए ।

‘हामीले रकम दिँदा धेरै आशा देखाए । अहिले हामी आफ्नो गुनासो लिएर कहाँ जाने? सरकारले नै रकम फिर्ताका लागि पहल गर्नुपर्छ’, उनले भने ।

इलाका प्रहरी बुटवलका डीएसपी विजयराज पण्डितले सहकारी पीडितको उजुरीका आधारमा पक्राउ परेका सबैमाथि अनुसन्धान जारी रहेको बताए । प्रहरीमा उजुरी गर्ने बचतकर्ताहरू दुई हजार छन् ।

२०७६ कात्तिक १६ गते भएको सहकारीको साधारणसभाबाट दीपेश पुन सचिव रहेकै बेला सहकारीको ७८ करोड बढी रकम अपचलन भएको अनुसन्धानबाट देखिएपछि प्रहरीले पुनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको पण्डितले बताए ।

रुपन्देही क्षेत्रका करिब १० हजार ३९१ बचतकर्ताको १ अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ सुप्रिम सहकारीमा फसेको छ ।