Butwal Today

कांग्रेसद्वारा गृहमन्त्रीमाथि छानवीन गर्न संसदीय समिति माग

६ चैत्र २०८०, मंगलवार
अ+
अ-

काठमाडौं,६ चैत । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति गठन गरेर छानवीन गर्नुपर्ने माग गरेको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले लामिछानेमाथि सहकारी प्रकरणमा अनुसन्धान गर्न पर्याप्त प्रमाण भएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहालले रविमाथि छानवीन गर्न प्रमाण नभएको बताएपछि यो भनाइमा असन्तुष्टि जनाउँदै कांग्रेसले पर्याप्त प्रमाण भएको दाबी गरेको हो।

प्रधानमन्त्रीजीले कुनै प्रमाण छैन भन्नु भएको छ तर पर्याप्त प्रमाण छन् भन्दै लेखकले संसदीय छानबिन समिति गठन गर्न आग्रह गरेका छन्।
‘म चुनौती दिन चाहन्छु, प्रधानमन्त्री प्रमाण छैन भन्दै हुनुहुन्छ। म प्रमाण छ भन्दैछु। यही सदनभित्र छानबिन समिति गठन गरौं। प्रमाण छ कि छैन त्यो पनि हेरौं– उनले भने।

उनले प्रधानमन्त्री दाहाललाई नै गलत जानकारी दिइएको भन्दै चिन्ता व्यक्त गरेका छन्।  कांग्रेसले प्रतिनिधि सभा बैठकका कामकारबाहीलाई अवरोध गर्न नचाहेको पनि उनले बताए।