Butwal Today

कपिलवस्तुबाट भारत भाग्न लागेका महरा सिआईबी हेडक्वाटर पु-याइए

५ चैत्र २०८०, सोमबार
अ+
अ-

बुटवल,५ चैत । सुन तस्करी प्रकरणमा पक्राउ पर्ने डरले भारत भाग्न लागेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको हेड क्वाटर काठमाडौं पुर्‍याइएको छ ।
६० किलो सुन तस्करी प्रकरणमा कपिलवस्तुबाट परेका महरालाई गौतमबुद्ध विमानस्थल भैरहवाबाट यति एअरलाइन्सको जहाजमार्फत काठमाडौंको सीआईबी हेडक्वाटर पुर्‍याइएको हो ।

पूर्व सभामुख पूर्व सभामुख समेत रहेका महरा कपिलवस्तुको मायादेवी १ पकडी स्थित माओवादी नेता वकिल मुसलमानको घरमा बिहानको खाना खाने तयारीमा थिए ।
महराले खाना खानलाई साबुन पानीले हात धोइसकेका थिए । त्यसैबेला उनलाई प्रहरीले पछ्याइरहेको सूचना उनले थाहा पाएपछि भात नै नखाई बाग्मती ०१०२७ च १९९३ नम्बरको रातो प्राडो गाडीमा चढेर अलिगढवा नाकातिर हुइँकिएका थिए ।

महरा सवार गाडी रोक्न पकडी प्रहरी चौकीले ब्यारियर तेर्स्याएको तर, गाडी ब्यारियर छलेर भागेको र केही पर पुगेपछि प्रहरीले उनलाई घेरा हालेर पक्राउ गरेको थियो ।

स्रोतका अनुसार कपिलवस्तुको अमरगढवा नाका हुँदै भारत भाग्ने योजनाका साथ कपिलवस्तु पुगेका उनलाई त्यहांबाट भैरहवा विमानस्थल हुंदै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको कार्यालयमा पुराइएको हो ।