Butwal Today

भोजपुर र मोरङमा आगलागी : तीनजनाको मृत्यु, १९ घर जले,२५ घर विस्थापित

गर्मी याम शुरु हुनै लाग्दा आगलागीका घटना बढ्न सक्ने भएकाले सतर्कता अपनाउन सुरक्षा निकायले सबैलाई आग्रह गरेको छ ।
४ चैत्र २०८०, आइतबार
अ+
अ-

बुटवल,४ चैत ।  गर्मी याम शुरु हुनै लाग्दा विभिन्न जिल्लामा आगलागीका घटना हुन थालेका छन् । भोजपुरको हतुवागढी गाउँपालिका वडा नम्बर ७ पात्लेपानी पिप्लेमा आगलागी हुँदा एकाघरका ३ बालबालिकाको मृत्यु भएको छ ।
साँझ साढे ५ बजेतिर खोल्मामा लागेको आगोबाट धनबहादुर कार्कीका २ नाती र एक नातिनीको ज्यान गएको हो ।

आगोमा जलेर केदार कार्कीको छोरा ४ वर्षीय प्रनिश र रमेश कार्कीकी ५ वर्षीया छोरी दीपशिखा साथै अढाई वर्षीय छोरा द्युनिश कार्कीको मृत्यु भएको गाउँ कार्यपालिका सदस्य सजना परियारले जानकारी दिइन् । यस्तै मोरङको रङ्गेली ३ बाबुसाहेव टोलको सन्थाल बस्तीमा आगलागी हुँदा १९ घर जलेको इलाका प्रहरी प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ। आगलागीमा परेर उन्नाइस घरधुरीका २५ परिवार विस्थापित भएको रङ्गेली नगरपालिका उपप्रमुख गोमा पराजुलीले बताइन्। गर्मी याम शुरु हुनै लाग्दा आगलागीका घटना बढ्न सक्ने भएकाले सतर्कता अपनाउन सुरक्षा निकायले सबैलाई आग्रह गरेको छ ।