Butwal Today

महरालाई कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन

४ चैत्र २०८०, आइतबार
अ+
अ-

बुटवल,४ चैत । माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

सुन प्रकरणमा संलग्न रहेकाले कारबाही गर्न भन्दै उच्चस्तरीय छानबिन आयोगले सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न निर्देशन दिएको गृह स्रोतले जनाएको छ ।

गृहमन्त्री रवि लामिछानेले आईजी वसन्तबहादुर कुँवर र सीआईबीका एआईजी श्यामलाल ज्ञवालीलाई मन्त्रालयमा बोलाएर महरालाई कारबाही गर्न निर्देशन दिएका हुन् ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई कारबाही गर्न सिफारिस गरेको थियो ।
यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट भेप मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

त्यसैगरी गृहमन्त्री लामिछानेले बाँसबारी छाला जुत्ताको सरकारी जग्गा पनि फिर्ता ल्याउने प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् । सरकारी जग्गा सरकारी स्वामित्वमा ल्याउन निर्देशन दिइएको गृह स्रोतले जनाएको छ ।

बाँसरी जग्गा प्रकरणमा संलग्न रहेकाहरुको समेत बयान लिन निर्देशन दिइएको छ । यसक्रममा उद्योगपति एवम् सांसद विनोद चौधरीको पनि बयान लिइँदै छ ।