Butwal Today

आफ्नो आत्मकथा बिक्री गर्न गढवामा डा.महावीर पुन

३ चैत्र २०८०, शनिबार
अ+
अ-

लमही, ३ चैत ।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुन आफ्नो आत्मकथा बिक्री गर्न शनिवार दाङ देउखुरीको गढवा गाउँपालिकामा पुगेका छन् ।

कृषि औजार कारखाना सुधार एवं सञ्चालनका लागि आत्मकथा बिक्री गर्ने उद्देश्यले देश दौडाहामा निस्केका पुन शनिवार गढवा हुँदै जखेरा तालपछि पूर्व लागेका छन् । गढवा होटल ब्यवसायी संघको छैठौं बार्षिकोत्सव तथा वनभोज कार्यक्रममा सहभागी हुन डाक्टर पुन गढवा गएका थिए ।

कार्यक्रममा जाने समयलाई सदुपयोग गर्दै डाक्टर पुनले करिव एक घण्टा गढवा बजारको मुख्य चोकमा किताव बिक्री गरे । गढवाको मुख्य चोकमा खुट्टामा चप्पल र साथमा केही थान किताब सहित डाक्टर पुन सामान्य पहिरनमा उभिए । पुनलाई देख्न, किताब किन्न र तस्वीर खिच्न निक्कै भिड लागेको थियो । छोटो समयमा ५२ वटा किताव बिक्री भएको डाक्टर पुनले बताए ।

किताव बिक्री स्थानमा सहभागीहरुले राज्यको ध्यान नपुगेको ठाउँमा ध्यान पुर्याएर देशको विकाश र रोजगारको क्षेत्रमा गरेको प्रयास र काम अतुलनीय रहेको बताए थिए । सामान्य जीवन शैलीबाट आफुहरु अत्यन्त प्रभावित भएको बताउँदै डाक्टर महावीर पुनको ब्यक्तित्वबाट धेरै कुराको ज्ञान लिन सक्ने बताए ।

किताब बेच्ने अभियानको ६९ औं दिनमा दाङको गढवामा आइपुगेको बताउँदै पुनले कम्तीमा तीन महिनामा आफ्नो लक्ष्य पूरा गर्ने अनुमान गरेको बताए । हाल सम्म ६१ हजार भन्दा बढी किताब बिक्री वितरण गरिसकेको डा. पुनले जानकारी दिए । प्रतिपुस्तक सात सय ५० रुपैयाँमा बिक्री गर्ने गरिएको बताए । शुक्रबार उनले लमहीमा ८ सय भन्दा बढी किताब बेचेका थिए ।