© 2026
बुटवल,२ चैत । आज विश्व उपभोक्ता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवसका रूपमा मनाइने गरिएको छ। यो वर्ष स्वच्छ र प्रतिस्पर्धी बजार, उपभोक्ताको सार्वभौम अधिकार’ भन्ने नारा तय भएको छ।
सन् १९६२ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले सुरक्षा, सूचना, छनोट र सुनुवाइ उपभोक्ताका चार अधिकार भएको घोषणा गरेका थिए। त्यसै दिनको सम्झनामा ‘विश्व उपभोक्ता अधिकार दिवस’ मनाउन थालिएको हो।
वाणिज्य, आपूर्ति उपभोक्ता संरक्षण विभागका नेतृत्वमा आज नेपालमा विभिन्न कार्यक्रम गरेर देशव्यापी रूपमा विश्व उपभोक्ता दिवस मनाइ पनि नेपालमा भने आम उपभोक्ता अधिकांश वस्तु र सेवा खरिदमा ठगिने गरेका छन् ।
हरेक वस्तु र सेवामा मनपरी मूल्य बृद्धि, कमसल गुणस्तर, विषादीयुक्त तरकारी फलफुलको निर्वाध आयात, प्रभावकारी कानुन र नियमित अनुगमन अभाव जस्ता कुराले उपभोक्ता चरम मारमा पर्दै आएका छन् । उपभोग्य वस्तुमा हुने मिसावट र बजारमा हुने कालो बजारीले उपभोक्ता भने सधैँ मारमा पर्ने गरेका छन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र त्यस अन्तर्गत रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमन गरिरहेको दाबी गरेको छ तर बजारमा सुधारको अवस्था छैन ।
विभागले चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो आठ महिनामा तीन हजार २९१ वटा व्यावसायिक फर्मको अनुगमन गरेको छ। जसमा ८३८ वटालाई पाँच हजारदेखि तीन लाख रुपियाँसम्म जरिवाना गरिएको छ।
अनुगमनका क्रममा ६४ व्यावसायिक फर्मबाट म्याद नाघेका एक करोड पाँच लाख बराबरका सामान नष्ट गरिएको विभागले जनाएको छ।
विभागका महानिर्देशक तीर्थराज चिलुवालले विभागमा रहेको सानो अनुगमन युनिटले आमनागरिकले चाहेजस्तो गरी बजारमा परिवर्तन ल्याउन नसके पनि विगतको तुलनामा केही सुुधार गर्न खोजेको दाबी गरेका छन्।
उपभोक्ता अधिकार तथा अनुसन्धान मञ्चका अध्यक्ष माधव तिम्लिसेनाले सरकारसँग अति आवश्यकीय वस्तुको उत्पादन, माग र आपूर्तिको आधिकारिक तथ्याङ्क नहुँदासम्म बजार सीमित व्यक्तिकै नियन्त्रणमा हुने र उपभोक्ता सधैँ मारमा पर्ने बताए। सरकारसँग स्वदेशमा भएको उत्पादन, बजारको माग र आपूर्तिको तथ्याङ्क नहुँदासम्म कुनै वस्तुको थोरै माग बढ्नेबित्तिकै बजारमा कालो बजारी र कृत्रिम अभाव हुने समस्या हुने उनको भनाइ छ।
Photo : File