Butwal Today

कांग्रेसद्वारा गृहमन्त्रीको नियुक्तिबारे प्रधानमन्त्रीको धारणा माग

१ चैत्र २०८०, बिहीबार
अ+
अ-

काठमाडौं,१ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नियुक्तिबारे प्रधानमन्त्रीको धारणा माग गरेको छ।

बिहीबार प्रतिनिधिसभा बैठकको सुरुमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद बद्री पाण्डेले सहकारी ठगीबारे विभिन्न आरोप लागेका व्यक्ति रवि लामिछानेले त्यही काण्डका दोषीलाई कारबाहीको दायरामा ल्याउनेमा शंका व्यक्त गरे।

सहकारीको आदर्शविपरीत गर्न नहुने संस्थामा लगानी, दिन नहुने शीर्षकमा कर्जा, सेयर सदस्य नभएका व्यक्ति, पाउनै नपर्ने ऋण प्रवाहको सघन आरोपबाट घेरिएका गृहमन्त्रीले यस्तै प्रकृतिका अन्य दोषीलाई कसरी कानुनी कारबाहीको दायरामा ल्याउनुहुन्छ भन्दै सांसद पाण्डेले प्रश्न गरे।
उनले गृहमन्त्री लामिछानेलाई ठूला माछा उम्काउने हतियार बनाउन लागिएको हो कि भन्दै आशंका व्यक्त गरे। यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनको माग छ।

सहकारी पीडितको प्रदर्शन राजधानीमा एकैसाथ सुरु भएको भन्दै उनले अनुसन्धानको कमान्ड सम्हालेका गृहमन्त्री स्वय‌ं यसका आरोपित भएको जिकिर गरे।