Butwal Today

स्थानीय सरकारको प्रयासः गाउँ बस्तीमा ‘छाउँदै उल्लास’

हेर्दा सानो काम देखिएपनि दीर्घकालीन महत्वका कार्यक्रमले सकारात्मक परिवर्तनहरु देखिदै गएका छन् । गाउँ र वडामै पुगेका स्थानीय सरकारले सेवा पुयाउँदा दुर्गमका बासिन्दाहरुमा आर्थिक तथा सामाजिक परिवर्तनकोे आशा पलाउँदै गएको छ ।
२९ फाल्गुन २०८०, मंगलवार
अ+
अ-

सल्यान, २९ फागुन । सल्यानका दुर्गम बस्तीमा पनि बिकासका गतिविधि बढ्न थालेका छन् । संघीयता पश्चात गाउँगाउँबाट जनप्रतिनिधि चुनिएपछि बिकासको लहर पनि देखिन थालेको हो । यसबाट बिस्तारै नागरिकहरूले विकासको अनुभूति पनि गरेको देखिएको छ । दुर्गमका बासिन्दाहरूमा आर्थिक तथा सामाजिक परिवर्तनकोे आशा पलाउँदै गएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिकामा पछिल्लो समय बिकास निर्माणका उदाहरणीय हुँदा यसले सकारात्मक परिवर्तन देखाउन शुरु गरेको छ ।

हेर्दा सानो काम देखिएपनि दीर्घकालीन महत्वका निकै राम्रा काम भएको भन्दै स्थानीयहरू स्थानीय सरकारप्रति सकारात्मक हुँदै गएका छन् । स्थानीयले कल्पना समेत नगरेको बस्तीमा सडक सुविधा पुयाउनेदेखि शिक्षा, स्वास्थ्य, पशु सेवा लगायतका महत्वपूर्ण क्षेत्रमा सेवाको पहुँचबाट टाढा रहेका गाउँबस्तीलाई केन्द्रित गरेर विभिन्न योजना र कार्यक्रम संचालन भैरहेको छत्रेश्वरी गाउँपालिकाले जनाएको छ ।

‘म बनाउँछु, मेरो छत्रेश्वरी’ भन्ने मूल नाराका साथ पालिको जनता रिझाउनेगरी काम गरिरहेको छ । जनतालाई सेवा दिन र आफुले गरिरहेको कामको प्रभाकारीता हेर्नका लागि पालिकाले आफ्ना वेभसाइटमा ‘छत्रेश्वरी गाउँपालिकाभित्र भइरहेको काम कार्वाही तपाईलाई कस्तो लागेको छ ?’ भन्ने जिज्ञासामा अनलाईन रूपमा धेरै राम्रो, राम्रै र सुधार गर्नुपर्ने विकल्पमा प्रतिक्रिया दिनसक्ने व्यवस्था गरेको छ ।

गाउँमै व्यवस्थित रूपले स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले छत्रेश्वरी–२ दहखोलाको आधारभुत स्वास्थ्य सेवा केन्द्रमा ६ कोठे पक्की भवन निर्माण कार्य सुरु भएको छ । ४० लाख रूपैयाँ लागतमा निर्माण हुन लागेको भवनको शुरुवाद गर्दै गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले स्वास्थ्य संगै गाउँपालिकाबाट प्रदान गरिने विभिन्न सेवा वडा तथा वस्ती स्तरमै पुर्याउने लक्ष्य अनुसार आफुहरू अघि बढिरहेको बताएका थिए ।
स्वास्थ्य संस्थाको भवन अभावका कारणले प्रसुती सेवा केन्द्र सञ्चालन नआउँदा वडा नं २ का गर्भवती महिलाहरू अन्यत्रै वडामा जानुपर्ने बाध्यता रहेको भन्दै वडा अध्यक्ष प्रेम बहादुर नेपालीले जनचाहना अनुरूपको काम गर्ने प्रयत्नमा आफूहरू रहेको बताए ।

यस्तै छत्रेश्वरी–५ को चौरपानीमा पनि भित्री गोरेटो बाटोको स्तरोन्नतिको काम भैरहेको वडा कार्यालयले जनाएको छ । मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चौरपानीबाट तल्लो गाउँ जाने बाटोको सुधार भैरहेको वडा नम्बर ५ का वडा अध्यक्ष तथा छत्रेश्वरी गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेतले जनाए । गोरेटो बाटो अफ्ठेरो भएका कारण स्थानियहरूले सास्ती व्यहोर्दै आएकोमा १५ लाख रूपैयाको लगानीमा करिब ६७५ मिटर बाटोमा ढलान र सिढी निर्माण कार्य भैरहेको उनको भनाइ छ । यो बाटो निर्माण पछि विद्यार्थी, कृषक लगायत स्थानीय सबैलाई पैदल हिँड्दा सहज हुने अपेक्षा छ । बस्ती बस्तीमा मोटरबाटो पुयाउने देखि चेतना अभिवृद्धि, सशक्तीकरण, पर्यटन प्रवद्र्धन, कलासंस्कृती संरक्षण लगायतका विभिन्न क्षेत्रमा महत्वपुर्ण काम भैरहेको गाउँपालिकाका प्रवक्ता बस्नेतको भनाइ छ ।