Butwal Today

इलाम–२ मा उम्मेदवार बन्न सुहाङले दिए निवेदन

२७ फाल्गुन २०८०, आइतबार
अ+
अ-

काठमाडौं ।

इलामको क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि संविधानसभाका अध्यक्ष स्वर्गीय सुवाशचन्द्र नेम्वाङका छोरा सुहाङले उम्मेदवार बन्ने इच्छा देखाएका छन् । उनले एमालेबाट उम्मेदवार बन्नका लागि पार्टीमा निवेदन दिएका हुन् । इलाम क्षेत्र नम्बर २ मा आगामी १५ वैशाखमा उपनिर्वाचन हुँदैछ ।

पूर्वसभामुख एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाम–२ मा हुन लागेको उपनिर्वाचनमा उनकै छोरा सुहाङले उम्मेदवार बन्न पार्टीमा निवेदन दिएका हुन् । एमालेको इलाम जिल्ला कमिटीले उम्मेदवार चयन गर्न अध्ययन कार्यदल गठन गरेको छ ।

पार्टी उपाध्यक्ष उदयबहादुर राई नेतृत्वको कार्यदलले उम्मेदवारका आकांक्षीहरुसँग निवेदन मागेको थियो । संयोजक राईका अनुसार, अहिलेसम्म सुहाङसहित चार जनाले निवेदन दिएका छन् ।

उम्मेदवार बन्न सुहाङ, रवीन्द्र सुवेदी, बुद्धि खनाल र देवी क्षेत्री दुलालले निवेदन दिएका छन् । यी सूची आगामी ३ चैतभित्र जिल्ला कमिटीमा पेश गर्ने कार्यसूची छ ।