Butwal Today

उदयपुरे राजा अधिकारीको बंशावली विमोचन

२७ फाल्गुन २०८०, आइतबार
अ+
अ-

दाङ, २७ फागुन ।

उदयपुरे राजा अधिकारीहरुको बंशावलीको दोस्रो संस्करण विमोचन गरिएको छ । अधिकारीहरुले आफ्नो पुख्र्यौली थलोको संरक्षण गर्नुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । अधिकारी समाजको केन्द्रीय समितिको आयोजनामा उदयपुरे राज्यको इतिहास तथा अधिकारी बंशावली लोकार्पण तथा सम्मान कार्यक्रमका सहभागीले यस्तो धारणा राखेका हुन् ।

कार्यक्रममा नेपाल सस्कृत विश्वविद्यालय बेलझुन्डी दाङका कुलसचिव प्राध्यापक माधव अधिकारीले अधिकारीको इतिहास राख्न पुस्तकले महत्वपूर्ण भूमिका खेलेकोे बताए । प्युठानको उदयपुरकोटमा बन्न लागेको एतिहासिक संग्रहालयले थप अध्ययन गर्ने थलोको रुपमा स्थापित हुने उनले बताए । पिता पुर्खाको सम्मान गर्नु असल सन्ततिको कर्तव्य भएको उनले बताए ।

पुर्व राष्ट्रिय सभा सदस्य रश्मिराज नेपाली अधिकारीले उदयपुरको राज्य संचालनको बारेमा अझै धेरै कुरा अनुसन्धान गर्नुपर्ने बताए । पुर्व संविधानसभा सदस्य नारायणप्रसाद अधिकारीले अधिकारीहरु एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताए । पुर्व लुम्बिनी प्रदेश सदस्य सरस्वती गौतमले अधिकारीका छोरी हुनुमा गर्व लाग्ने र नेतृत्व गर्ने क्षमता भएको बताइन् ।

कस्यप गोत्रीय समाजका झापाका उपाध्यक्ष भिमप्रसाद अधिकारीले बंसजहरुको पुस्तकले सबैलाई एकै स्थानमा जोड्ने काम गर्ने बताए । कार्यक्रममा निवर्तमान अध्यक्ष नारायण अधिकारी, निवर्तमान उपाध्यक्ष पद्मप्रसाद शर्मा, संस्थापक अध्यक्ष विष्णुप्रसाद अधिकारी, उच्च अदालत तुलसीपुरका पुर्व न्यायाधीश कृष्णकमल अधिकारी, पुर्व न्यायाधीश रामप्रसाद अधिकारी, मान्ड्वी गाउँपालिका प्युठानका अध्यक्ष नमराज अधिकारी लगायतले शुभकामना दिएका थिए । अधिकारी राज्यको बारेमा भिडियोबाट डिल्लीराज अधिकारीले जानकारी गरायका थिए । अधिकारी बंशका ज्येष्ठ नागरिक ९८ वर्षीय बर्दिया निवासी रविलाल अधिकारी लगायत ६५ जना ज्येष्ठ सदस्यलाई सम्मान गरिएको समाजका केन्द्रीय अध्यक्ष रमेशकुमार अधिकारीले जानकारी दिऐ । कार्यक्रममा अधिकारी समाज केन्द्रीय उपाध्यक्ष नारायणप्रसाद अधिकारी, सचिव गिरिराज अधिकारीललगायतले मन्तव्य व्यक्त गरेका थिए । प्रथम राजा जसुधर अधिकारीको तस्विरमा माल्यार्पण गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।