ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

त्यागी मन

२६ फाल्गुन २०८०, शनिबार
२६ फाल्गुन २०८०, शनिबार

रागलाई जीवनको सुहाग ठानेर रङ्मगाईरहेको अवस्थामा त्याग शब्द सुन्दै असहज लाग्ने गर्छ । त्यसो त कहिलेकाहीँ त्यागका कुरा नगरिने कहाँ हो र ! रोकेर रोक्न नसकिने, छेकेर छेक्न नसकिने मलमूत्र जस्तै त्यागलाई त्यागको उपमा दिएर काम चलाइन्छ । उडेको सातु पितृका नाममा, हराएको गाई सूर्यलाई दान जस्ता कुराले समाजमा रहेको त्याग शून्य अवस्थाको खुलासा गर्छन् । ज्ञानलाई व्यवहारमा उतार्न नसकेपछि व्यक्ति आफैमा एक हँस्सी पात्र बन्दो रहेछ । भावी सन्तति संस्कारित बनून् भनेर कैयौँ शास्त्र ग्रन्थहरू लेखिएका छन् । ती शास्त्र ग्रन्थहरूको व्याख्या गर्न ब्राह्मण पुरोहित खटिएका छन् । तर ती खटिने व्यक्ति नै अभावग्रस्त देखिनुले त्याग संस्कारमा ठूलो खडेरी देखिएको छ । समाजमा गरिने साना ठूला यागयागादि संस्कार पुस्तान्तरण गर्ने निकै राम्रा कडि हुन्, उत्तम अवसर पनि हुन् । सञ्चार माध्यमले आर्थिक मन्दीका कुरा अलापिरहे पनि व्यक्तिमा मानसिक मन्दी नछाएसम्म भौतिक मन्दी पेलिँदो रहेछ । त्यसैले यज्ञहरू भइरहेका छन् । यो एक सामाजिक विवेच्य सन्दर्भ हो ।

समाजमा गरिने यागादिको सानाठूला भूमिकामा म पनि बोलाइन्छु । श्रेयो हि ज्ञान अभ्यासाज्ज्ञानाद्ध्यान विशिष्यते । ध्यानात्कर्मफलत्यागस्त्यागाच्छान्तिनिरन्तरम् ।। अर्थात् ज्ञान बिनाको अभ्यास क्रियाभन्दा ज्ञानसहितको अभ्यास श्रेष्ठ हुन्छ । योभन्दा ध्यान अझ माथि छ । ध्यानभन्दा माथि कर्मफल त्याग अर्थात् निष्काम कर्म अझ श्रेष्ठ छ । यसले त निरन्तर अनन्त शान्ति दिन्छ । जस्ता कुरा व्याख्या गर्नसमेत जानेको छु । यज्ञान्तमा पुष्पाञ्जली गर्दा द्यौः शान्तिः … कण्डिकाले १२ किसिमका शान्तिको कामना गर्दै दुनिञाका ब्रह्मरन्ध्रमा जलाविशेष गर्ने म आफ्नै शान्तिको अत्तोपत्तो नभएर हरबखत चञ्चल रहन्छु ।

अलि टाढाका छिमेकिको रुद्राभिशेक पूजामा निम्तिएको थिएँ । त्यहाँ देवी पुजनको जिम्मा पाएको थिएँ । सप्तशती पाठ अर्थात् चण्डीपाठ, भुक्तिका लागि चण्डी मुक्तिका लागि गीता भन्छन् । सो पाठ यजमानका लागि गरिने भए पनि सांसारिक रागमा रुमल्लिएको व्यक्ति म सो काममा छनोट हुनु शास्त्रसम्मत नै थियो । पटक पटक पाठ गरिएको चण्डीको पाठ सर्सरी चल्थ्यो । बीचबीचका कैयौँ श्लोक कण्ठस्थ पनि भएकाले मेरा फुर्सतिला आँखा पुस्तकमाभन्दा निम्तारुले चढाउने फलफूल र भेटीमा दगुर्थे ।
यज्ञको समापनपछि आफ्ना फाँटका भेटी फलफूल एकठ्ठा गर्न लागेँ । घरसम्म पु¥याउँदा किचिने थिँचिएर बिग्रने खालका परिपक्क गलित फलफूल त्यहीँ प्रसादका रूपमा बाँडेर आफ्नो त्यागको उदाहरण प्रदर्शन गरेँ । हरिसाल केरा श्रीमती छोराछोरीसमेतले नाकनिक गर्ने भएकाले त्यो पनि त्यागकै महलमा प¥यो ।

मेरा घर नजिकै रहेको दुर्गा मन्दिरमा नवाह चलिरहेको थियो । यस यज्ञका लागि ल्याइएका तर नचढाइएका उभ्रेका फूल सो देवी यज्ञका लागि लैजाने भएँ । फूल राख्ने झोला ठूलो थियो । नियमित रूपमा फलफूल चामल बोक्ने झोला भरिएकाले केही बचेकुचेका फलफूलको पोको मन्दिर लैजाने फूलका झोलामा राखेँ । झोला अझै खाली थियो । किचिन्छन् कि भनेर प्रसादका रूपमा वितरण गरेका अङ्गुर र केही मुङ्ग्रे केरा सम्झेर झिनो पछुतो लाग्यो । धन्यै हो त्यो त्यागपछिको पछुतो !

यजमानकहाँ जाँदा रित्तो झोला, पहेँला टालाटुलीमा बेह्रिएको एउटा पातलो पुस्तक, तर फर्कँदा विभिन्न कुटुराकुटुरीका भारी ! जति गह्रौँ हातको भारी उति फुरुङ्ग फूलका थुङ्गा जस्तो हलुङ्गो मन । काँधमा गह्रौँ झोला, हातमा दुर्गा मन्दिरका लागि ल्याएको फूल थियो । फूल मात्रै त त्यति के गह्रौँ हुन्थ्यो र । त्यहाँ मिसमास फलफूलको कुटुरो पनि थियो । त्यसैले कुटुरालाई हातको देब्रे दाहिने आलापालो गर्दै हिँडिरहेको थिएँ ।
दक्षिणाको खाम हेर्न बाँकी नै थियो । बटुलिएको भेटी भने लगभग अनुमान लगाए पनि यकिन गर्न सो पनि बाँकी नै थियो । नभए एकै शोक भए सय शोक भने झैँ मनमा थुप्रै कुरा खेलिरहेका थिए । परिश्रमको आम्दानीको दसौँद अर्थात् १० प्रतिशत दान गर्नू भन्छन् । यो कुरा निकै पेचिलो बनेको थियो । श्रमको रकम त दक्षिणा सिदा हो । त्यो भेटीको पैसा त उसै आएको हो । उसै आएको फुसै जान्छ भन्छन् । यो भनाइले झसक्क झस्कायो ।
अँ, अचालका यजमान पनि कम्ताका छन् र । यता भेटी राम्रै परेको देखे भने उता दक्षिणा कम गर्ने गर्छन् । यस तर्कले दक्षिणा अनुमानभन्दा कम भए पनि चस्को पर्ने भएन । अनि भेटी पनि श्रमको कमाइ क्षेत्रअन्तर्गत नै पर्ने भयो । आयकरबाट जोगिन आफ्नो तलबको रकम करमुक्त विभिन्न कोषमा जम्मा गरे जस्तो । धन्य हो मेरो शान्तिकामी बुद्धि !

यस्तै कुरा सोच्दासोच्दै म दुर्गा मन्दिरको नजिकै आइपुगेँ । मेरो घर पनि मन्दिर नजिकै भएकाले पहिले मन्दिर जाने कि घर जाने भन्ने कुरामा दोमन भएँ । घर पुगेर गह्रौँ झोला राखेर छरितो भई मन्दिर जाँदा राम्रै हुन्थ्यो । तर फूल देखेपछि जहानले यता कलशमा उता माला उन्ने भन्न थाले भने उहाँदेखि मन्दिरलाई अर्पेर ल्याएको कुरा सङ्कल्प भङ्ग हुने भयो भन्ने पिरलो एकातिर । त्यागको नमुना देखाउँ भनेर फूलका झोलामा राखेर ल्याएको फलफूल पनि मन्दिरमै दिउँ भनेर गरेको मन सङ्कल्प पनि भङ्ग हुन सक्ने अर्कोतिर ! म पो यताउता हिँड्दा मनग्गे फलफूल खाने गर्छु । जहानका लागि त यो सुविधा कहाँ ? अनि फलफूलसहित फूल चढाउने कुरा भङ्ग हुने ठानेर मन्दिरतिरै अघि बढेँ ।
एक मनले भन्दै थियो— हेर्, आफूले पालनपोषणको जिम्मा लिएका मान्छेलाई तृप्त नपारी बेसल्लाहले यी फल र फूल लिएर मन्दिर जाँदै छस् । यसको प्रतिवाय तैँले भोग्नै पर्छ । तँ आत्ममारा होस्, स्वार्थी होस्, अधर्मी होस् । अनि अर्को मन भन्दै थियो— हेर्, कुनै कुरा देखेपछि मात्रै कामना, आसक्ति जन्मन्छ । जब जहानले देख्दै देखेका छैनन् भने उनीहरू दुःखी हुने कारण नै के छ ? फेरि उनीहरूका लागि असली असली मौसम, स्याउ, ठूलाकोसे केरा, सुन्तला त बोकेको झोलामा छँदै छन् । अनि केको प्रतिवाय ? बरु उनीहरूका तर्फबाट पनि त्याग भयो । परोक्ष त्याग । हिँड अलि दह्रा खुट्टा गराएर ।

मन्दिरको प्रवेशद्वारनिरै पुग्दा मुङ्ग्रे केराको झझल्को आयो । त्यो केरा घर लैजाने झोलामा राखेँ कि मन्दिरमा दिने फूलको झोलामा राखेँ ! अब मन्दिरको प्रवेशद्वारमा कुटुरो फस्टाएर केरा बेग्ल्याउन पनि उचित भएन । ठूलो हिम्मतसाथ यो फूलसमेत भएको झोलामा जे छ, जति छ सो सबै मन्दिरलाई दिने निधो गरेँ । एक अमिलो त्याग !

मन्दिरमा फूलसमेतको झोला दिएँ । फूलको अभाव रहेछ । नचिताएको अवस्थामा फूल आएकोमा सबै जना खुसी भए । त्यो खुसीमा अझ खुसी थप्नका लागि मलाई केही कुरा थप्ने सकसक भयो । अनि भनेँ— यो फूलभित्र फलफूलको पोको पनि छ । मन्दिरका जिन्सी राखनधरन गर्ने स्वारेद्वारे भँडारे सन्तोषीमाताका भक्त रहेछन् । शुक्रवार भएकाले उनीहरूले सुन्तला, स्याउ लगायतका अमिला फल त्यस दिन नछुने रहेछन् । अनि त त्यो फलफूलको पोको निकालेर भण्डार कोठासम्म मैले नै पुर्या उनुपर्योन । कुटुरो बाहिर निकालेँ । त्यहाँ मुङ्ग्रे केरा थिएन । अमिलो त्यागको भिभिर्को पनि मेटियो । ऐना हेरेको भए मेरो मुख साँच्चै उज्यालो भएको थियो ।
त्यसरी उसै आएका कुरा त्याग्न त यो महाभारत छ भने श्रमकै आर्जन कसरी त्याग्न सकिएला ? तै पनि त्वदियं वस्तु गोविन्द तुभ्यमेव समर्पये अर्थात् हे गोविन्द तिमीले दिएको कुरा तिमीलाई नै दिँदैछु भनेर भन्न छाडेको छैन । त्यागको पहिलो पाइला हो, क्रमशः बढ्दै जाला नि !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?