Butwal Today

थारु मानक भाषाका लागि भाषा वर्ण निर्धारण अभ्यास

१९ फाल्गुन २०८०, शनिबार
अ+
अ-

नेपालगञ्ज, १९ फागुन ।

थारु मानक भाषा लेखनशैलीका लागि थारु भाषावर्ण निर्धारण गर्न थालिएको छ । थारु भाषा साहित्य केन्द्र नेपाल र थारु आयोगले थारु भाषा वर्ण निर्धारणको अभ्यास थालेका हुन् । थारु भाषालाई पनि सर्वमान्य भाषाको रुपमा विकास गर्ने उद्देश्यले शुक्रबार नेपालगञ्जमा थारु मानकभाषा लेखन शैली कार्यशाला गोष्ठी आयोजना गरियो । गोष्ठीमा बाँके, बर्दिया र सुर्खेतका थारु बुद्धिजीवीहरुबीच छलफल हुनुका साथै समूहगत रुपमा थारु भाषावर्णको अभ्यास गराईएको थियो ।

जिल्ला र क्षेत्र अनुसार बोलिने भाषा फरक रहेकाले थारु भाषा मानकीकरणमा समस्या भइरहेको थारु आयोगका सदस्य भोलाराम चौधरीले बताए । भूगोल र क्षेत्रका आधारमा थारु भाषावर्ण निर्धारण गरेर मानक भाषा बनाउने उनले बताए । उनले भने, ‘संविधानले थारु भाषालगायत १२४ भाषालाई मान्यता दिईसकेको छ तर हामी यसलाई प्रयोगमा ल्याउन नसक्नु हाम्रो कमजोरी हो ।’ सरकारी कामकाज, शिक्षा र आमसञ्चार जगतमा थारु मानक भाषाको प्रयोग बढाउने उद्देश्यले थारु आयोगले यो अभ्यास थालेको उनले जानकारी दिए ।

थारु मानक भाषा लेखन शैली समितिका विज्ञ अनिलदत्त चौधरीले मानक भाषा बनाउँदैमा थारु भाषा लोप नहुने बताए । थारु मानक भाषा लेखनशैलीको विकास भएपनि भूगोल र क्षेत्र अनुसार बोलिने भाषा फरक रहिरहने उनको दाबी छ । देशभरी करिब तीन÷तीन जिल्लालाई समेटेर थारु भाषावर्ण निर्धारणको काम गरिरहेको उनले जानकारी दिए ।

थारु कल्याणकारिणी सभा र थारु मानक भाषा मस्यौदा समितिको सहकार्यमा आयोजना गरिएको कार्यशालामा थारु भाषा साहित्य केन्द्रका अध्यक्ष भुलाई चौधरी, पूर्व मन्त्री तथा थारु भाषाविज्ञ गोपाल दहित, थारु भाषा साहित्य अनुसन्धानकर्ता तथा लेखक शेखर दहित, थारु कल्याणकारिणी सभा बाँकेका अध्यक्ष विनोद थारुलगायतको समूहले छुट्टा छुट्टै थारु भाषावर्ण निर्धारण अभ्यास गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?