Butwal Today

जलविद्युतको शिरै अँध्यारो

१६ फाल्गुन २०८०, बुधबार
अ+
अ-

प्यूठान, १६ फागुन । जिल्लाको स्याउलीवांगमा अहिलेपनि केन्द्रीय प्रशारणको बिद्युत पुगेको छैन । जनु गाउँ झिमरुक जलविद्युत् आयोजनाको मुख्यस्रोत मध्येको एक लुंङ्गखोलाको शिर हो । स्याउलीवाङ्ग हँुदै बगेको लुंगखोला र झिमरुक खोलाको पानीले १२ मेगावाटको झिमरुक जलबिद्युत आयोजना सञ्चालनमा छ । तर त्यहि स्याउलीवांग अझैपनि अन्धकार छ । केन्द्रीय प्रशारणको लाईन कुर्न लागेको बर्षाै भएको स्थानीय बताउँछन् ।

लघुजलबिद्युत मार्फत गाउँमा बिद्युत बलेको छ । तर सबैको पायकमा लघु जलबिद्युत छैन्, केही घर अहिलेपनि टुकी र सोलारको भरमा रहेको नौबहिनी गाउँपालिका १ स्याउलीवाङ्गका पूर्व वडा अध्यक्ष शेर बहादुर सेनले बताए । गाउँमा बिद्युत आउँछ भन्न लागेको पाचबर्ष भयो, तिन बर्षअघिबाट त कामनै सुरु भएको थियो । तर अहिलेसम्म गाउँलेले बिद्युत बाल्न पाएका छैनन । ‘एक बर्षमा सकिनुपर्ने काम तिनबर्ष बितिसक्दा पनि पुरा भएको छैन्,’उनले भने,‘अझै कति समय लाग्ने हो, थाहा छैन् ।’

बिद्युत बिस्तारको काममा ढिलासुस्ती भएपछि गएको १० गते स्याउलीवाङ्गका स्थानिय बिद्युत प्राधिकरण प्यूठान बितरण केन्द्रसम्म आएका थिए । ठेकेदार सम्पर्कमा नरहेकाले र काम नभएको गुनासो लिएर आएका स्थानिय काम चाँडै गर्न कार्यालयमा दवाव दिन आएको बताए । ‘सरासर काम भएको भए परारसालनै गाउँमा बत्ती बल्थ्यो,’स्थानिय एलपी सेरचनले भने,‘अहिले त ठेकेदार कता छ थाहाँ छैन् ।’ एक बर्षमा सकिने काम तिनबर्षहुदा सम्म १० प्रतिशत पनि नभएको बताए । ‘कामै भएको छैन, गाउँ पुगेका विद्युत्का सामान पनि खोला र जगंलमा अलपत्र छन्,’ उनले भने, ‘कार्यालयले दिएका सामान ठेकेदारले जथाभावी छोड्दा हराउने, चोरी हुने गरेका छन् ।’ बिद्युत बिस्तारका सामाग्रि अहिले स्याउलीवाङ्गका बिभिन्न स्थानमा अलपत्र अवस्थामा फालिएको छ ।

एक/दुई जनाले ताकेता गर्दा पनि सुनुवाइ नभएपछि सिंगो गाउँ नै गत १० गते धर्ना दिन कार्यालय आएको हो । १३ गते स्याउलीवाङ्गमा बिद्युत प्राधिकरणका प्रमुख, स्थानिय र ठेकेदारका प्रतिनिधिका बिचमा समेत छलफल भएको छ । चैत मसान्तसम्म गाउँमा बिद्युत पु¥याउने काम सक्नेगरी ठेकेदारलाई निर्देशन दिइएको नेपाल बिद्युत प्राधिकरण प्यूठान बितरण केन्द्रका प्रमुख ईन्जिनियर महेन्द्रकुमार दासले बताए । चैत मसान्तसम्म काम पुरा नभए कम्पनीलाई कार्वाहि गरी नयाँ प्रकृयामा जान्छौ । ‘प्यूठान जिल्लामा बिद्युत बिस्तार हुन स्याउलीवांगमात्रै बाकी छ,’उनले भने,‘कार्यालयले पनि प्राथमिकता दिएर काम गरेको छ ।’

नौबहिनी गाउँपालिका–१ स्याउलीबाङमा विद्युत् विस्तारका लागि २०७८ जेठ ७ गते ठेक्का सम्झौता भएको थियो । विद्युत् विस्तारको जिम्मा महर्षी कन्ट्रक्सनले पाएकोमा तीन वर्ष बित्नैलाग्दा समेत १० प्रतिशत पनि काम हुन नसकेको नौबहिनी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष घनबहादुर बुढाले बताए । ’२०७८ चैत ३० गतेभित्र काम सम्पन्न गर्ने योजना हो, तर ८० सालको चैत आउन लाग्दासम्म योजना पूरा भएको छैन । गाउँमा विद्युत् बिस्तारमा ढिलासुस्ती भएपछि स्थानीय आक्रोसित भएका छन्,’ वडाध्यक्ष बुढाले भने, ‘पटक–पटक ताकेता गर्दा कार्यालय र ठेकेदार कम्पनी दुबैले बहाना बनाउँदै भाग्ने गरेका छन् ।’

सम्झौताअनुसार तोकिएको मितिमै काम भैदिएको भए गाउँमा दुई वर्ष पहिले नै विद्युत् पुग्ने थियो । अहिलेसम्म हामी अन्धकारमा छौं, कहिले विद्युत् बाल्न पाउँछौ जवाफ चाहियो,’ स्थानीय पूर्ण बुढामगरले भने,’विद्युत् विस्तारको काम सुरु गराउन जुनसुकै निकाय जान परे पनि पछि पर्दैनौं ।’ स्याउलीबाङमा विद्युत् विस्तारका लागि प्यूठान वितरण केन्द्रले १५ लाख ५ हजार ८ सय ३८ रूपैयाँ बराबरको ठेक्का सम्झौता गरेको थियो । तर कोरोना महामारीका कारण विद्युत् विस्तारका लागि आवश्यक सामान नहुँदा काममा ढिलासुस्ती भएको नेपाल विद्युत् प्राधिकरण प्यूठान वितरण केन्द्र प्रमुख दासले जानकारी दिए । उनका अनुसार अहिले सबै सामान आइसकेकाले अबको एक÷डेढ महिनाभित्र काम सम्पन्न हुन्छ । ‘चैत मसान्तसम्ममा काम सक्नेगरी निर्देशन दिएका छौ,’ उनले भने, ‘भनेको समयमा काम पूरा नभए अर्को प्रक्रियामा जान्छौं ।’ विद्युत् नहुँदा स्याउलीबाङका करिब ६ सय घरधुरीले अप्ठ्यारो झेलिरहेका छन् ।