Butwal Today

कालीकोटको सुनथराली विमानस्थलमा जहाज पुगेपछि स्थानीय खुसी

१४ फाल्गुन २०८०, सोमबार
अ+
अ-

सुर्खेत, १४ फागुन ।

कालीकोटको नरहरिनाथ गाउँपालिका–१, कोटबाडास्थित सुनथराली विमानस्थलमा सफल परीक्षण उडान भएसँगै औपचारिक रुपमा उद्घाटन गरिएको छ । आइतबार दोस्रो पटक परीक्षण उडान भएसँगै सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको हो ।

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, पर्यटन मन्त्री सुदन किराँतीले उद्घाटन गरेका थिए । कार्यक्रममा कर्णाली सरकारका मुख्यमन्त्री राजकुमार शर्मा, पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, जीवनबहादुर शाही, कालीकोटबाट प्रदेश तथा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरूको सहभागिता रहेको थियो ।

सुर्खेत विमानस्थलबाट नेपाल एयरलाइन्स र तारा एयरलाइन्सका दुईवटा जहाजबाट मन्त्री तथा सांसदहरु कार्यक्रमको उद्घाटन गर्न सुनाथराली पुगेका हुन् । विमानस्थल बनेको तीन दशकपछि जहाज पुगेपछि स्थानीयहरु खुसी देखिए । कार्यक्रमको उद्घाटन गर्न पुगेका अिितथीहरुलाई स्थानीयले दमाहा बजाएर तामझामका साथ स्वागत गरेका थिए ।

निर्माण सुरु भएको ३८ वर्षपछि जहाज आएपछि स्थानीय नागरिकहरू जहाज हेर्न विमानस्थलमा आएका थिए । यस विमानस्थलको ०७३ साल माघमा पहिलो पटक जहाज परीक्षण गरिएको भएपनि कालोपत्रे भने गरिएको थिएन ।