Butwal Today

विश्वकप लिग-२ : नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

१३ फाल्गुन २०८०, आइतबार
अ+
अ-

काठमाडौँ ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी नामिबिया सम्मिलित त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल आज (आइतबार) नेदरल्यान्ड्ससँग खेल्दै छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि घरेलु टोली नेपालले ब्याटिङ गर्ने भएको हो। सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्समाथि ९ विकेटको फराकिलो जित निकालेको नेपाल लगातार दोस्रो जित निकाल्ने योजनामा छ।

नेपालले सिरिजका चार मध्य तीन खेलमा मात्र जित निकालेको छ। नेदरल्यान्ड्सलाई पहिलो खेलमा हराएको नेपालले नामिबियासँग भने दुवै खेलमा हार भोगेको छ।

नेपाल नामिबियासँग पहिलो खेलमा ४ विकेटले तथा दोस्रो खेलमा २ विकेटले पराजित भएको थियो।

उता सिरिजका दुई खेलमा हार र एक खेलमा जित निकालेको नेदरल्यान्ड्स नेपाललाई हराउन चाहन्छ। पहिलो खेलमा फराकिलो हार भोगेको डच टोली आज नेपाललाई हराउँदै त्यो हारको बदला लिने योजनामा छ।

नेपालसँग पहिलो खेलमा हार भोगेको डच टोलीले नामिबियासँग भने एक खेलमा जित र १ खेलमा हार भोगेको छ।

पहिलो खेलमा नामिबियालाई ७ विकेटले हराएको नेदरल्यान्ड्स दोस्रो खेलमा भने २४ रनले पराजित भएको थियो।

हेड टु हेड
नेपाल र नेदरल्यान्ड्स यसअघि चार ओडीआई खेलमा भेट भएका छन्। यी चार भेटमा नेपालले दुई खेलमा जित निकाल्दा दुई खेलमा भने हार भोगेको छ।

सन् २०१८ मा भएको दुई खेलको सिरिजमा पहिलो खेलमा ५५ रनले पराजित भएको थियो। तर दोस्रो खेलमा भने १ रनको रोमाञ्चक जित निकाल्दै नेपालले सिरिज बराबरी गरेको थियो।

पछिल्लो पटक सन् २०२३ मा भएको विश्वकप छनोटमा नेपाल ७ विकेटले पराजित भएको थियो। जारी सिरिजमा यसअघि नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?