Butwal Today

पालिकाको सहयोगी बन्दै ईन्द्रेणीका स्वास्थ्य परियोजना

१३ फाल्गुन २०८०, आइतबार
अ+
अ-

सुनवल, १३ फागुन

पश्चिम नवलपरासीको बर्दघाट ९ भुताहामा रहेको ईन्द्रणी समाजिक विकास मंच स्थानीय तहका लागी सहयोगी बन्दै गएको छ । मंच मार्फत संञ्चालित स्वास्थ्यसंग सम्बन्धित परियोजनामार्फत स्थानीय तहका स्वास्थ्य संस्थाका पूर्वाधार निर्माण तथा सञ्चालनका लागि विभिन्न सहयोग प्रदान गर्दै आएको छ । हरेक वर्ष एक करोड हाराहारीमा बजेट विनियोजन गरेर जिल्लाका सात स्थानीय तहमा ईन्द्रणी मार्फत ती परियोजनाले काम गर्दै आएका छन् ।

मञ्च मार्फत सञ्चालित आधारभूत स्वास्थ्य परियोजनाले हालै मात्र जिल्लाको सुस्ता गाँउपालिकास्थित नारायणी पारीको विकट गाउँ सुस्तामा स्वास्थ्य संस्थाका लागि दुई कोठे पक्की भवन पालिकासँगको साझेदारीमा निर्माण गरेको छ । झण्डै ९ लाख रुपैयाँ लागत रहेको उक्त भवनका लागि ५ लाख रुपैयाँ ईन्द्रेणीले खर्चेको छ भने बाँकी रकम गाँउपालिकाले व्यहोरेको हो । सुस्तामा हाल सम्म एउटा सामुदायिक स्वास्थ्य एकाई छ, त्यो पनि टिनको कच्ची घरमा सञ्चालन हँुदै आएकोमा अहिले आपङ्ग मैत्री भवन निर्माण गरेर पालिकालाई हस्तान्तरण गरेर सञ्चालनका लागि सहयोग गर्ने ईन्द्रेणी सामाजिक विकास मञ्चका कार्यकारी निर्देशक बद्रि प्रसाद सुवेदीले बताए ।

थप साढे चार लाख बराबरका फर्निचर र आवश्यक स्वास्थ्य उपकरण सहितका सामग्री परियोजना मार्फत निःशुल्क उपलब्ध गराईने सुवेदीले बताए । सुस्तामा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच नहँुदा सामान्य स्वास्थ्य उपचारका लागि पनि भारततर्फ जानुपर्ने बाध्यता छ । सुस्ता सामुदायिक स्वास्थ्य एकाईका ईन्चार्ज अशोक चौधरीले भवन अभावमा सेवा प्रवाहमा समस्या भईरहेको समयमा नयाँ भवन निर्माणले सहज भएको बताए । “सुस्तामा धेरै समस्या छन् त्यस मध्ये स्वास्थ्य समस्या पनि एक हो”– चौधरीले भने, “अब विस्तारै विभिन्न संघ संस्था र स्थानीय तहको साथले समाधान होला भन्ने आशा छ । मञ्चका अध्यक्ष होमराज कुँवरले सुस्तामा परियोजना मार्फत निकट भविष्यमै बर्थिङ्ग सेन्टर सम्म सञ्चालन गर्न परियोजना मार्फत सहयोग गर्ने बताए । ‘हामी स्थानीय तह संगसंगै भएर स्वास्थ्य क्षेत्र सुधारको लागि काम गर्ने हो, बिरामी कुरुवा कक्ष निर्माणदेखि स्वास्थ्य सामग्री सहित फर्निचर सम्मको सहयोग गर्दे आएका छौ,’ कुँवरले भने ।

आधारभूत स्वास्थ्य परियोजना मार्फत चालु आर्थिक वर्षमा ८० लाख बजेट सात स्थानीय तहका लागि विभिन्न काममा विनियोजन गरिएको छ । कुष्ठरोग हात्तीपाईले रोग लगायतका उपेक्षित उष्णप्रदेशीय रोगको पहिचान र रोगीको जिविकोपार्जनमा समेत परियोजनाले सहयोग गर्दै आएको छ । कार्यकारी निर्देशक सुवेदीका अनुसार ग्रामीण समुदाय स्वास्थ्य परियोजना मार्फत प्रतापपुरको जगन्नाथपुरको आधारभुत अस्पतालमा सुत्केरी कुरुवा कक्ष निर्माण भएको छ । त्यसले सुत्केरी हुन आउनेहरुका लागि सो स्थानमा बस्न तथा खानपानका लागि सहयोग पुग्ने सुवेदीले बताए ।

सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले ईन्द्रेणीका परियोजनाले पालिकालाई स्वास्थ्य क्षेत्रमा काम गर्न सहज भएको उल्लेख गरे । सुस्तामा बनेको भवनमा स्वास्थय सेवा विस्तार गर्न ईन्द्रेणीसंग सहकार्य गर्ने उपाध्यायले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?