Butwal Today

पत्रकार महासंघ दाङले प्रदेशस्तरीय मिडिया महोत्सव गर्ने

१२ फाल्गुन २०८०, शनिबार
अ+
अ-

लमही, १२ फागुन ,

नेपाल पत्रकार महासंघ दाङले लुम्बिनी प्रदेश स्तरीय मिडिया महोत्सव आयोजना गर्ने भएको छ । महासंघ दाङ शाखाको बैठकले लुम्बिनी प्रदेशको पत्रकारिताको विकास र प्रवद्र्धन गर्ने उद्धेश्यका साथ आगामी चैत तेस्रो साता लुम्बिनी प्रदेश स्तरीय मिडिया महोत्सव आयोजना गर्ने निर्णय गरेको हो ।

महोत्सव सफल बनाउनका लागि नेपाल पत्रकार महासंघ, लुम्बिनी प्रदेश सरकार, स्थानीय तह, प्रेस काउन्सील नेपाल लगायत सम्बन्धित निकाय तथा संघसंस्थाहरुसँग सहकार्य गर्ने निर्णय भएको महासंघ दाङ शाखाका सचिव आर.के.शीतलले जानकारी दिए ।

बैठकले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ मा रहेको मेट्रो कलेजले आफ्नो कलेजमा अध्ययनरत विद्यार्थीहरुले समाचारमूलक बुलेटीन प्रकाशन गर्दै आएकोमा विद्यार्थीहरुका लागि पत्रकारिता तालिम दिन अनुरोध भई आएकाले कलेजसँगको सहकार्यमा दुई दिने पत्रकारिता तालिम सञ्चालन गर्ने निर्णय गरेको महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीले जानकारी दिए । त्यस्तै नेपाल पत्रकार महासंघ दाङले सञ्चालन गरेको मिडिया साक्षरता अभियानलाई जिल्लाव्यापी रुपमा विस्तार गर्ने र दाङका सञ्चारमाध्यमका समस्यालाई अध्ययन अवलोकन गरि प्रतिवेदन तयार गर्ने निर्णय पनि बैठकले गरेको छ ।