© २०२३
बुटवल,११ फागुन । तीन जिल्ला कार्यक्षेत्र भएर बुटवलबाट शुरु भएको शाइन र गुल्मी जिल्ला कार्यक्षेत्र भएको रेसुंगा विकास बैंक मिलेर शाइन रेसुंगा डेभलपमेन्ट बैंक बन्यो । शाइन रेसुंगा बनेपछि तत्कालीन अवस्थामा राष्ट्र बैंकको मर्जर नीतिलाई समेत आत्मसाथ गर्दै बलियो र सुदृढ बैंक बनाउने उद्देश्यका साथ अन्य तीन बैंकलाई पनि गाभेर शाइन रेसुंगा राष्ट्रियस्तरको विकास बैंकको रुपमा राष्ट्रिय पहिचान बनाएको छ ।
पांच वटा विकास बैंकहरु मर्ज भएर लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रियस्तरको विकास बैंक बन्न सफल बैंक पनि शाइन रेसुंगा नै बनेको छ ।
लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै शाखा, धेरै कारोबार र धेरै ग्राहक सहित प्रदेशको बलियो बैंक पनि शाइन रेसुंगा नै भएको छ ।
२०६५ फागुनमा तीन जिल्ला कार्यक्षेत्र रहने गरी बुटवलमा स्थापना भएको शाइन डेभलपमेन्ट बैंक र २०६४ असोजमा स्थापना भएको गुल्मी जिल्ला कार्यक्षेत्र रहेको रेसुङ्गा विकास बैंक २०६९ मा मर्ज भई १० जिल्ला कार्यक्षेत्रसहित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक बनेको थियो ।
शाइन रेसुंगाले प्यूठान जिल्ला कार्यक्षेत्र रहेको गौमुखी विकास बैंकलाई २०७३ जेठमा गाभेको थियो भने २०७५ मा तीन जिल्ला कार्यक्षेत्र रहेको पूर्णिमा विकास बैंक र पाँच जिल्ला कार्यक्षेत्र रहेको भार्गव विकास बैंक लिमिटेडलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको थियो ।
शाइन रेसुंगाले नेपाल राष्ट्र बैंकबाट २०७६ मंसिर १० गते राष्ट्रियस्तरको विकास बैंकको रुपमा कारोबार गर्न स्वीकृति प्राप्त गरेको थियो ।
‘राष्ट्र बैंकको नीति अनुसार हामीले आफूलाई अर्थन्त्रको जिम्मेवार अंगको रुपमा मनन् गरेर सबल र सुदृढ वित्तीय संस्था बन्न मर्जरमा जानुपर्छ भन्ने निर्णयमा पुग्यौं र पार्टनर बैंकहरुको विश्वास जित्दै राष्ट्रियस्तरमा स्तरोन्नति भएका थियौं – इतिहास सम्झिंदै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौड्यालले भने –‘हामीले सुरुदेखि नै इथिकल बैंकिङ, संस्थागत सुशासन र पारदर्शितालाई अंगाल्यौं, जसले गर्दा मर्जर सफल भयो र अहिले राष्ट्रियस्तरको विकास बैंकका रुपमा पहिचान कायम गरेका छौं।’
लुम्बिनी प्रदेशमा मात्रै बैंकका ७२ वटा शाखा कार्यालय छन् । लुम्बिनी प्रदेशलाई आधार बनाएर राष्ट्रियस्तरमा अग्रणी विकास बैंकको पहिचान बनाउने लक्ष्य छ,’ पौड्यालले भने । संघीय राजधानी काठाडौंमा मात्रै पाँच स्थान नयाँ बानेश्वर, न्यूरोड, कलंकी, गोंगबु र बसुन्धरामा सहित उपत्यकामा ८ वटा शाखा कार्यालयहरु सञ्चालन गरेको छ ।
बैंकले स्थापनाकालदेखि नै इथिकल बैकिङको अभ्यास र आर्थिक सुशासन कायम गर्दै अघि बढेकाले विकास बैंकहरुमा अग्रणी र सेवाग्राहीको रोजाईको बैंक बन्न सफल भएको प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए ।
बैंकका अध्यक्ष थानेश्वर पौडेलले ग्रामीण क्षेत्रमा समेत बैंकिङ पहुच पु¥याउने उद्देश्यले बैंकले पहाडी जिल्लामा शाखाहरु विस्तार गरेको र सूचना प्रविधको विकसित युग सुहांउदो डिजिटल बैकिङलाई प्राथमिकता दिएर अगाडि बढेको बताए ।
बैंकमा कुनै जोखिम आउन नदिन राष्ट्र बैंक का नीति निर्देशनहरु तथा प्रचलित कानूनको पूर्ण पालना र संस्थागत सुशासनमा शुन्य सहनशिलता, प्रभावकारी आन्तरिक नियन्त्रण अपनाएको अध्यक्ष पौडेलले बताए । कोभिड महामारीपछि विश्वव्यापी रुपमा अर्थतन्त्रमा परेको असर नेपालको बैकिङ क्षेत्रमा पनि परेको उल्लेख गर्दै अध्यक्ष पौडेलले अर्थतन्त्र लयमा फर्काउन बैंकिङ क्षेत्र सबल र सुदृढ हुनुपर्नेमा सरोकारवाला सबैको सकारात्मक साथ चाहिने बताए ।
बैकिङ क्षेत्र कमजोर भयो भने मुलुकको अर्थतन्त्र पनि कमजोर हुनेतर्फ सबै सजग भई सकारात्मक सोंचले अघि बढ्न अध्यक्ष पौडेलले आग्रह गरेका छन् । ८ अर्ब अधिकृत पुंजी र ४ अर्ब ७३ करोड चुक्ता पुंजी भएको बैंकका देशभर ८८ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र १८ वटा एटीएम सञ्चालनमा छन् । बैंकले हालै अन्तर्राष्ट्रियस्तरको एशिया इमर्जिङ बैंकिङ अवार्ड र गत वर्ष बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड जितेको थियो ।
बैंक तथा वित्तीय संस्थाहरुको प्रत्यक्ष संलग्नता आर्थिक क्षेत्रमा रहेता पनि सामाजिक रुपमा समेत बैंक समाजप्रति उत्तरदायी हुनु पर्ने मान्यता अनुसार बैंकले जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न सकारात्मक योगदान गर्न , स्वच्छ वातावरण, स्वस्थ समाजको सोंच अनुरुप शाइन ग्रो ग्रीन प्रोजेक्ट सञ्चालनमा ल्याई चौधौ बार्षिकोत्सवमा १४ हजार र पन्ध्रौं वर्षमा एक हजार गरी १५ हजार बिरुवा आफ्ना शाखा कार्यालय रहेका क्षेत्रमा रोपेको छ ।