Butwal Today

नवलपुरमा बाघ मृत अवस्थामा फेला

४ फाल्गुन २०८०, शुक्रबार
अ+
अ-

नवलपुर, ४ फागुन ।

पूर्वी नवलपरासीमा भाले प्रजातिको बाघ मृत अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मध्यविन्दु नगरपालिका १० अरुणखोला नजिकै भूपु तमासपुर जाने बाटो नजिकै वनमा बाघ मृत फेला परेको हो ।

घटना स्थलमा अहिले प्रहरी र डिभिजन वन कार्यालय कावासोती नवलपुरको टोली पुगी अनुसन्धानमा लागेको प्रहरीले जनाएको छ ।

डिभिजन वन कार्यालयका वन अधिकृत अर्जुन सापकोटाले उक्त बाघ कालगतिले मरेको बताए । उनका अनुसार १०–१५ दिन अगाडि उक्त बाघ मरेको हो । बाघ सडी गलिसकेको अवस्थामा फेला परेको सापकोटाले बताए ।

सापकोटाका अनुसार उक्त बाघलाई स्थानीय बासिन्दा, प्रहरी र वन कर्मचारीको रोहबरमा मुचुल्का तयार पारी घटना स्थल वरपर नै गाडेर छाडिने उनको भनाइ छ ।

स्थानीयका अनुसार उक्त स्थानमा स्थानीयले ८–१० दिन अघि उक्त बाघ देखे पनि सुतेर बसेको आशंकामा बाघलाई छाडेका थिए । अहिले जंगल जाँदा बाघ सडिसकेको अवस्थामा भेटेपछि प्रहरी र वनका कर्मचारीलाई खबर गरेका थिए ।

प्रहरी र वनका कर्मचारीले उक्त बाघ नरभक्षि भए नभएको अहिले नै यकिन नभएको बताएका छन । उक्त बाघ भाले बाघ रहेको र १२–१५ बर्ष उमेरको बाघ भएको अनुमान गरेको छ ।

बाघ भेटिएको क्षेत्र वरपर यसअघि बाघले मानिस र घर पालुवा जनवारलाई आक्रमण गरी खाने गरेको थियो स्थानीयले बताए ।