Butwal Today

भनाई र गराईबीचको दुरी घटाऔँ

३ फाल्गुन २०८०, बिहीबार
अ+
अ-

नेपालको सन्दर्भमा हरेक व्यक्तिका कुरा सुन्दा सबै आदर्शवान लाग्छन् । सबै व्यक्ति दयावान लाग्छन । सबै सत्यवादी देखिन्छन् । सबै छोरा श्रवण कुमार देखिन्छन । सबै नेता राष्ट्र प्रेमी, राष्ट्रवादी तथा राष्ट्रसेवक देखिन्छन् । सबै कर्मचारी राष्ट्रसेवक देखिन्छन् । हुन त नेपालमा उनीहरूलाई राष्ट्रसेवकको पदवी नै दिइएको छ । सबै डाक्टरमा भगवानको रूप देखिन्छ । अनि कुरा सुन्दा लाग्छ यस्ता पनि व्यक्ति छन् है हाम्रो समाजमा । यस्तो पनि समाज छ है हाम्रो । यस्तो पनि समाज हुन्छ र ? भनाइमा सबै अन्यायको खिलापमा देखिन्छन् । सुन्दा नेपालमा रामराज्य नै छ जस्तो आभाष हुन्छ । तर व्यवहारमा के छ यो सर्वबिदितै छ । यदि यसको बारेमा ब्याख्या गर्ने हो भने इन्द्रको अगाडि स्वर्गको बयान गरेजस्तो हुनेछ । आजको युगलाई सूचना तथा प्रविधिको युगपनि भन्ने गरेको पाइन्छ । यो हो पनि । नेपालमा सामाजिक संजालका प्रयोगकर्ता बढ्दै गएको देखिन्छ । व्यक्तिले आफ्ना मनका भावना पोख्न, आफ्नो सफलताको जानकारी दिन, जानकारीमूलक कुरा राख्न, खुशी तथा दुःख ब्यक्त गर्न सामाजिक संजालका भित्ताको प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ । कतिपय व्यक्तिका सामाजिक सञ्जालका भित्ता त अर्ति उपदेशका लागि नै बनाइएका हुन् जस्तो पनि देखिन्छ । यसो हेर्दा, व्यक्तिलाई सुन्दा हाम्रो समाजमा त्यति बेथिती र अव्यवस्था नहुनु पर्ने हो किनकी अर्ति उपदेश प्रदान गर्नेको बाहुल्यता नै छ यहाँ । भएका बेथिती पनि तत्कालै घट्नु पर्ने हो । व्यक्ति कानुनद्वारा बर्जित काममा संलग्न नहुनु पर्ने हो । सार्वजनिक सेवामा सुधार हुनुपर्ने हो । सेवाको स्तर बढ्नुपर्ने हो । तर व्यवहारमा यस्तो छैन ।
यहाँ स्थानीय निकायका निर्वाचित जनप्रतिनिधिदेखि सरकारको कार्यकारी प्रमुख प्रधानमन्त्री सबैले आफू जनताका काममा लागिपर्ने, योजना बनाउने, ती योजनाको अक्षरशः सफल कार्यान्वयनमा केन्द्रित हुने, पुल पुलेसाको शिलान्यास, कार्यक्रमको उदघाटन, आमसभामा भाषण दिने आदि काममा नअल्मिने भन्न थालेको धेरै भयो तर उनीहरूको दिनचर्या भने शिलन्यास, उदघाटन र भाषणमै घुमिरहेको छ । कामभन्दा कुरा धेरै भइरहेको छ । यद्यपि भनाइमा यी सबै यसको खिलापमा भएको जिकिर गर्छन् । हरेक व्यक्तिले आफू ठीक, आफूले गरेको काम ठिक भन्दै गर्दा पनि सार्वजनिक जीवनमा सुधार देखिएको छैन । जता गएपनि अर्ति, उपदेश र सदाचारी भेटिन्छन् तर समग्र मानवीय कार्यशैलीमा सुधार किन भएन त ? किनभने यहाँ व्यक्तिको भनाई र गराईमा फरक देखिएको छ । किनभने यहाँ व्यक्ति स्वयम् आफैले म ठिक, मैले गरेको ठिक भनिरहेको छ । सार्वजनिक जीवनमा सुधार आउन त अरूले उसलाई ठिक भन्नुपर्ने, उसको कामलाई ठिक भन्नुपर्ने हो , अरूले उसलाई अनुसरण गर्नुपर्ने हो त्यसो भएको छैन ।

यहाँ कार्यालयमा सबैभन्दा काम नगर्ने कर्मचारी आफूलाई सबैभन्दा असल ठान्छ । सबैभन्दा इमान्दार आफैलाई ठान्छ । अझ भनौं मेरै कारणले गर्दा यो मुलुक चलेको छ भन्ने ठान्छ । यसो हेर्दा अहिले कुन शिकार हो र कुन शिकारी हो भनेर छुट्याउन सहज छैन । लिएको रूप, भेष र क्षमताले यीनमा हुने फरक छुट्याउन सकिदैन । देखिन्छ एउटा, गर्छ अर्कै अनि कसरी छुट्याउने ? सरकारी कर्मचारीको कुरा सुन्यो भने तिनीहरू वास्तवमै राष्ट्रसेवक हुन जस्तो लाग्छ तर व्यवहार भने एकआधलाई छोडेर हेर्दा त्यसको विपरित देखिन्छ भन्दा अन्याय नहोला । विकसित देशमा सरकारी काम घरमै बसीबसी गर्छन् भनेको सुन्दापनि सपना जस्तै लाग्छ तर यहाँ भने सानो कामको लागि पनि कैंयौ दिन धाउनु पर्छ । यद्यपि कर्मचारीले अतिरिक्त लाभ पाउने वातावरण बन्यो भने ठूलै काम पनि क्षणभरमै निम्टिन्छ ।

राजनीतिक वृत्तमा हे¥यो त्यस्तै छ । भनाईमा नेताहरू राजनीतिक संस्कारका कुराहरू ठूलो स्वरले उठाउँछन् तर व्यहार कु–संसस्कारले भरिपूर्ण छ । लोकतन्त्रको वकालत जुन राजनीतिक दलले बढी गर्छ त्यो दलमा आन्तरिक लोकतन्त्र शुन्यप्रायः देखिन्छ । जसले साम्यबादको वकालत गरेर थाक्दैन उसले पूंजीवादलाई बढावा दिएको देखिन्छ । जसले समानताको कुरा गर्छ उसले नातावाद र कृपावादलाई काखी च्यापी असमानतालाई फराकिलो बनाउने काम गर्छ । जसले कम खर्चिलो अझ भनौ न खर्च नै नलाग्ने जनवादी विवाहको वकालत गर्छ उसैले आफ्ना छोरा छोरीको विवाह पाँचतारे होटलमा गर्दछ । जसले बाल अधिकारको कुरा गर्छ उसकोमै बालश्रमको शोषण भएको हुन्छ । जसले महिला अधिकारको कुरा गर्छ सबैभन्दा पीडित महिला उसकोमै भेटिन्छन । जो निष्पक्षताको वकालत गरेर जिन्दगीभर थाक्दैन व्यवहारमा उ नै सबैभन्दा बढी पक्षपाती हुन्छ ।

अब शिक्षाकै कुरा गरौं न । वर्तमान परिपेक्षमा हामीकहाँ सार्वजनिक शिक्षामा सुधारको बहस धेरै भएको छ । एकातिर हामी सरकारी विद्यालयको स्तरोन्नति गर्नुपर्छ, नीजि विद्यालय चाँहिदैन भन्ने गर्छौं तर त्यहिँनेर भित्रभित्रै हामीमध्ये कतिपयले यसमा लगानी पनि गरेका छौं । दिउँसो हामी हाम्रा कलिला १२ कक्षापास गरेर यो देश हाम्रो लागि हैनरछ भनि भारी मनले उच्च शिक्षा हासिल गर्ने उद्देश्य राखी अस्ट्रेलिया, अमेरिका क्यानडा आदि जस्ता देशमा जान खुट्टो उचालेका विद्यार्थीलाई रोक्ने रणनीति बनाउने कुरा गर्छौं तर बेलुका तिनै विद्यार्थी विदेश पठाउने कन्सल्टेन्सीलाई बढावा दिने खालका गतिविधिमा ब्यस्त हुन्छौं । कस्तो द्वैध चरित्र ? लाग्छ हाम्रा कुरा र स्थान हेर्दा नायकको जस्तो तर हाम्रो व्यवहार भने खलनायकको जस्तो । कस्तो बिडम्बना ? कस्तो तितो यथार्थ ?

व्यवहारिक, प्रयोगात्मक शिक्षाको अपरिहार्यताको वकालत गर्न पछाडी नपर्ने हामी व्यवहारमा भने सैद्धान्तिक शिक्षाको भुमरीमा अलमलिएका छौं । निशुल्क शिक्षा र स्वास्थ्यको वकालत गर्ने हामी शिक्षा र स्वास्थ्यलाई ब्यवसायीकरण गर्ने कार्यमा कुनै कसर बाँकी राखेका छैनौ । अब शैक्षिक क्यालेन्डर अनुसार सबै कार्यक्रमहरू समयमै हुन्छ परिक्षा भएको तिन महिनाभित्र नतिजा प्रकाशन हुन्छ भन्न पछाडि नपरेको देशको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय परिक्षा सकिएको एक वर्षसम्म पनि नतिजा प्रकाशन गर्ने नसक्ने मात्र होइन शैक्षिक क्यालेन्डर पनि बनाउन सकेको देखिदैन ।

जुन क्षेत्रमा हेयो त्यहाँ कामभन्दा कुरा धेरै गर्ने प्रवृत्ति बढ्दो छ । भनाई र गराईमा छत्तिसको आंकडा भएर होला यो देश अगाडी बढ्न नसकेको । देशको विकास हुन नसकेको । देश समृद्ध हुन नसकेको । हामी किन यस्ता भयौं र भइरहेका छौँ ? हाम्रो यो प्रवृत्तिले गर्दा हाम्रा सन्तति आफु जन्मे हुर्केको देश चटक्कै छाडेर विदेश पलायन हुने दर तिब्ररूपमा बढेको छ । भनाईले देश वर्षौं अगाडि सिंगापुर जस्तो भइसक्यो तर व्यवहारमा के भएको छ भन्ने कुरा पूर्णिमाको जुन जस्तै छर्लंग छ । हामी सबैमा भएको निराशाको बादल हटाउन भनाइ र गराईबीचको भिन्नता घटाउनु जरुरी छ । जे गर्न सक्छौं त्यहिँ मात्र बोल्ने बानीको विकास गरौँ । यसो गर्न सकियो भने कुरा भन्दा काम धेरै हुनेछ र देश तथा हामी सबैको भलो हुनेछ ।