© 2026
पाल्पा, २ फागुन । मंगलवार पाल्पा डुम्रे बाट घर जाँदै थिए तिनाउँ गाउँपालिका वडा नंं. ६ चिदिसका यम बहादुर अस्लामी । जिप जब डुम्रे कुसुमखोला सडक बाट गाउँतिर उकालो बाटोमा लाग्यो, यम बहादुरलाई चाँडो घर पुग्न पाए हुन्थ्यो भन्ने लागेको थियो । जब उकालो घुम्तिमा जिपमा खडक्क आवाज आयो अनि जिप व्याक हुन थाल्यो त्यस बेला सम्म यम बहादुर डराएका थिएन, जब जिपको पछाडीको टायर सडकको डिलमा पुग्यो, छतमा बसेका यम बहादुर हाम फालेर ज्यान बचाए । भित्र सिट खालि थिएन र छतमा बसेको थिए, बाटो उकालो घुम्ती थियो, सधै यात्रा गर्ने जिप थियो तर जिपमा अचानक के भयो व्याक भएपछि आफुले हाम फालेर ज्यान बचाएको यम बहादुरले बताए ।
डुम्रेबाट तिनाउँ गाउँपालिका वडा नंं. ६ चिदिस शिखर डाँडा जाँदै गरेको लु १ ज २३७१ नम्वरको यात्रुवाहक जिपमा मंगलबार बेलुका ५ बजेतिर दुर्घटना हुदा १० जनाको मृत्यु भएको छ भने १७ जना घाईते हुँदा पाल्पा शोकमा डुवेको छ । पुरानो सवारी साधन, अत्याधिक ओभरलोड र उकालो तथा ग्रेड नमिलेको साँघुरो बाटोको अवस्थाको कारण दुर्घटना भएको पाल्पाका प्रहरी प्रमुख हेरम्व शर्माले बताए । घाईतेहरू लाई तत्काल रगतको आवश्यकता परेपछी रेडक्रस पाल्पा र श्रीनगर युवा रेडक्रस सर्कलको पहलमा आपतकालीन रक्तदान शिविर संचालन गरी रगत संकलन गरेको रेडक्रस पाल्पाका सभापती बाबुराम कार्कीले बताए । रेडक्रसले ३७ युनिट शिविरमा व्लड संकलन गरेको छ भने मेडिकल कलेजमा २७ जना व्यक्तिले रक्तदान गरेका छन ।
तिनाउ गाउँपालिकाले घटनाको कारण सम्पुर्ण जनप्रतिनिधी, कर्मचारीहरू राहत तथा उद्वारमा खटिनु पर्ने भन्दै पालिकाले शोक विदा दिएको छ । पालिकाले दुर्घटनामा परी मृत्यु भएका घर परिवार लाई पैतिस हजार रूपैयाँका दरले राहत दिने निर्यण गरेको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए । मंगलवार वेलुका करीव ५ बजेको समयमा लु १ ज २३७१ नम्वरको जिप चिदिस शिखरडाडा जादै गर्दा उकालोमा व्याक भई दुर्घटना भएको थियो । जिपमा चालक सहित २७ जना यात्रु सवार रहेका थिए ।