Butwal Today

दाङको घोराहीमा गोली प्रहार गरी महिला प्रहरीको हत्या

३ फाल्गुन २०८०, बिहीबार
अ+
अ-

दाङ, ३ फागुन ।

घोराहीमा बिहीबार बेलुकी एक जना महिला प्रहरीको गोली प्रहार गरी हत्या भएको छ ।

दाङको घोराही १५ दामोदार चोक नजिक बेलुकी करिव साढे ८ बजे ड्यूटीमा रहेको बेला एक व्यक्तिले चलाएको गोली लागेर गम्भीर घाईते भएकी महिला प्रहरीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो ।

गोली लागेर मृत्यु हुनेमा वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापा मगर रहेको वडा प्रहरी कार्यालय घोराहीका प्रहरी निरिक्षक रामप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार घटना स्थलमा तीन राउण्ड गोली चलेको थियो ।

यसैबीच, महिला प्रहरीमाथि गोली चलाउने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोली हानेर भाग्दै गरेका यमबहादुर झाँक्रीलाई लमही नगरपालिका वडा नम्बर ६ अर्जुनखोलाबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । झाँक्री नेपालगञ्जमा कार्यरत प्रहरी रहेको प्रारम्भिक जानकारी आएको छ । घटनाका बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।