© 2026
सुनवल, २७ माघ । नारायणगढ बुटवल सडक विस्तारका लागि थपिएको म्याद सकिन ५ महिनाको मात्र अवधि बाँकी छ, तर सडकका दुवै तर्फ रहेका पोल सार्न ढिलाई हँुदा काममा अवरोध सृजना भएको छ । कामले तिव्रता लिएको दाबी भईरहँदा आयोजनाको पश्चिम खण्डमा अझै ६४ प्रतिशत विद्युतका पोल सार्न बाँकी छ । अहिले सहरी क्षेत्रलाई केन्द्रित गरेर धामधम काम भईरहेपनि विद्युतका पोलकै कारण ठाउँ ठाउँमा काममा अवरोध सृजना भएको छ ।
आयोजनाका पश्चिम खण्डका योजना प्रमुख शंशाक मिश्रले विद्युतका पोल नै अहिलेको कामको मुख्य चुनौतीको रूपमा खडा भएको बताए । मिश्रले जम्मा ३६ प्रतिशत पोल मात्र पश्चिम खण्डमा सारेर सकिएको बताउदै अझै ६४ प्रतिशत पोल सार्न बाँकी रहेको बताए ।
पोल सार्ने जिम्मा स्वयम ठेकेदारको हो, ठेकेदार चाईना स्टेट कन्स्ट्रक्सन ईन्जिनियरिङ्ग कर्पोरेशनले नेपाली ठेकेदारलाई पोल सार्न जिम्मा दिएको छ तर नेपाली ठेकेदारले समयमै भुक्तानी नभएको भन्दै काममा ढिलाई गर्दा सडक कालोपत्र गर्न सुरु भईसक्दा समेत पोल सार्ने काम पुरा हुन नसकेको हो ।
सुनवल, देवदह लगायतका मुख्य बजार क्षेत्रमै पोल सार्न बाँकि हुदा माटो फिलिङ्गको काममा ढिलाई भएको छ । विद्युत प्राधिकरणले फागुन मसान्त सम्ममै पोल सार्ने काम सक्न भनेको मिश्रले बताए । गर्मिमौसम सुरु हुने भएकाले लाईन् काटन समस्या हुने भन्दै प्राधिकरणले एक महिना भित्र काम सक्न भनेको छ, मिश्रले भने । अहिले स्थानिय ठेकेदारलाई चाईना स्टेटले भुक्तानी गरिसकेकाले अब धमाधम काम सुरु हुने मिश्रले बताए ।
उद्योग वाणिज्य संघ सुनवलका वरिष्ठ उपाध्यक्ष लेखनाथ खरेलले सडकमा हाल सम्म पोल समेत सार्न नसक्ने ठेकेदारले कसरी काम पुरा गर्ला भनेर पत्याने, अझै दुई वर्ष समय दिएपनि काम सक्न कठिन रहेको बताए । ‘माटो भर्दे आएको छ, बिचमै पोल पर्छ अनि काममा अवरोध हुन्छ, फेरि अर्को ठाँउमा काम सुरु हुन्छ त्यहा पनि त्यहि हालत हुन्छ अनि क्रमैसँग कामनै भएको छैन्, खरेलले भने ।’
बहुपक्षीय दातृ संस्था एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा ११३ किलोमिटर लामो यो आयोजना सम्पन्न नहँुदा सडक क्षेत्रका बासिन्दा र यात्रुले अतिनै सास्ती खेप्न बाध्य छन् । ४२ महिनाभित्र काम सम्पन्न गर्ने गरी २०७५ सालको माघ २४ गते सम्झौता भएको थियो । ६० महिना सकिँदा पनि समग्र प्रगति भने ४५ प्रतिशत पनि भएको छैन ।
आयोजनाको गैंडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर र दाउन्नेदेखि बुटवलसम्मको ४९ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर यो ठेक्का अघि बढाइएको छ । हालसम्म पुर्वि खण्डको भौतिक प्रगति ४६.१३ प्रतिशत र पश्चिम खण्डको भौतिक प्रगति ४२.४६ प्रतिशत मात्रै भएको छ । अहिले धमाधम बेस तयार गर्ने र कालोपत्र गर्ने काम पनि भईरहेको छ । दुवै खण्डमा ठुला पुलको आधा बढि निर्माण काम बाँकि नै छ । गत वर्ष थपिएको म्यादको आधारमा २०८१ साउन ६ गतेसम्मको आयोजनाको म्याद रहेको छ ।