© 2026
बुटवल ।
बल्कोट अर्घाखाँची – रुपन्देही सम्पर्क समाजको आयोजनामा बुधबार बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बुटवल नेपालगन्ज रोडको सुमेरु दर्शन होटलमा भएको कार्यक्रममा ३५ जनाले रक्तदान गरेका थिए । कार्यक्रमको शुभारम्भ गर्दै होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले समाजमा रहेका हरेक सामाजिक संघ संस्थाले सामाजिक उत्तरदायित्वको जिम्मेवारीलाई प्राथमिकताका साथ पुरा गरेमा समुन्नत समाज निर्माण जटिल नहुने बताए ।
कार्यक्रममा बोल्दै आर्थिक अनुसन्धान केन्द्रका अध्यक्ष हुमराज भुसालले गाउँदेखि सहरमा आएर विभिन्न पेसा व्यवसायमा लागेका व्यक्तिहरुले समाजमा चिनिनका लागि नभई समाजलाई विश्वभर चिनाउने गरी आगामी दिनमा थप रचनात्मक कार्यक्रम गर्न शुभकामना दिएका थिए ।
समाजको स्थापनादेखि सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समयमा विविध कार्यक्रम गरिरहेको समाजले यो वर्षको विशेष कार्यक्रम अन्तर्गत रहेर रक्तदान कार्यक्रम गरिएको अध्यक्ष मोहन भट्टराईले बताए । कार्यक्रममा आजीवन सदस्यहरु, विभिन्न विषयगत उपसमितिहरु, निवर्तमान कार्य समितिलाई सम्मान पत्रबाट सम्मान गरिएको थियो ।
समाजले जन्मभुमिप्रतिको आफ्नो उत्तरदायित्व कहिल्यै नभुल्ने र आगामी दिनमा बल्कोटमा विशेषज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन गर्ने र त्यहाँको कृषि उत्पादनलाई बजारीकरण गर्नका लागि सधैं प्रयत्नशील रहेको सस्थाका सल्लाहकार दिपक पन्थीले बताए ।
त्यस अवसरमा कार्यक्रम संयोजक सस्थाका उपाध्यक्ष रुपलाल पन्थी, सचिव समाजसेवी धुर्व सापकोटा लगायतले पनि रक्तदानको महत्वका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।