Butwal Today

कसैको दवावमा नपरी अनुसन्धान गर्न महासंघको माग

२२ माघ २०८०, सोमबार
अ+
अ-

बुटवल, २२ माघ ।  नेपाल उद्योग ब्यापार महासंघले सरकार मातहतमा रहेका जग्गा व्यक्तिको नाममा बनाएको घटनामा भइरहेको अनुसन्धानमा कसैको दवावमा नपर्न सरकारलाई आग्रह गरेको छ ।
बंसबारी छाला जुत्ताको १० रोपनी जग्गा व्यक्तिको नाममा बनाएको आरोपमा व्यवसायी अरुण चौधरी लगायत पक्राउ परेका व्यक्तिका विषयमा उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायत संस्थाले सरकारको आलोचना गरिरहेका बेला नेपाल उद्योग ब्यापार महासंघले सरकारको कदम सही भन्दै कसैको दबाबमा नपरी स्वतन्त्र र निष्पक्ष ढंगले छानवीन अघि बढाउन माग गरेको हो ।

महासंघका अध्यक्ष खिमलाल भण्डारीले विज्ञप्ति जारी गर्दै राज्यको सम्पत्तिमाथि कमजोर कानूनको फाइदा उठाई सीमित व्यक्तिको स्वार्थका लागि गलत नियतका साथ कानून प्रतिकूल निर्णय गराई कसैको पक्षमा बनाइदिने घटना निरन्तर उजागर भइरहेका भन्दै यस्ता घटनामा संलग्न सरकारी कर्मचारी, सम्बन्धित व्यक्ति वा संस्था जो कोहीमाथि अनुसन्धान गरी दोषी पाइए जो कोहीलाई कानून वमोजिम कारवाही गर्न माग गरेका छन् । राष्ट्रिय पुंजी, स्वदेशी उद्योग व्यवसायको विकास, संरक्षण र प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै हरेक किसिमका अवैध कारोबार,चोरी निकासी,भ्रष्टाचार र कालोबजारी जस्ता गतिविधिलाई निर्मूल पार्नुपर्ने मान्यतामा महासंघ रहेको भन्दै देशमा लामो समयदेखि ब्यापकरुपमा मौलाएको भ्रष्टाचार,तस्करी,विभिन्न खाले अवैध गतिविधि नियन्त्रण गर्न र राज्यको नियम कानून अनुसार स्वच्छरुपले आफ्नो उद्योग व्यवसाय गरेका व्यवसायीलाई उच्च मनोबलका साथ उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन पनि सरकारसंग माग गरेको छ । महासंघ स्वाधीन एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधकरण भन्ने मूल नारा र उद्देश्यका साथ क्रियाशील रहेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?