Butwal Today

कांग्रेस वैठकमा अरुण चौधरी पक्राउबारे गम्भीर छलफल,१० विषयगत समिति संयोजक तोकिए

१९ माघ २०८०, शुक्रबार
अ+
अ-

बुटवल,१९ माघ । कांग्रेस संसदीय दलको वैठकमा सीजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरीलाई सीआईबीले पक्राउ गरेको विषयमा आज गम्भीर छलफल भएको छ । कांग्रेस सांसद समेत रहेका अरुणका दाइ तथा सीजी ग्रुपका प्रमुख विनोद चौधरीले यस प्रकरणमा ब्रिफिङ गरेका छन् ।

चौधरीले यो गिरफ्तारी राजनीतिक प्रतिशोधबाट प्रेरित रहेको दाबी गरेका थिए । उनले बाँसबारी छालाजुत्ताको जग्गा सीजी होल्डिङले अनाधिकृत कब्जा गरेको अस्वीकार गरे । चौधरी परिवारमाथि राजनीतिक प्रतिशोध लिन खोजिएको हुंदा यो विषयमा कांग्रेस र अर्थमन्त्रीले बोल्नुपर्ने विनोद चौधरीले वैठकमा बताएका थिए । गलत भए कारबाही होस्, होइन भने यसरी बिनाकसुर बदनाम गर्न नपाइने उनको कथन थियो ।

चौधरीका अनुसार च्याम्पियन फुटवेयर भन्ने चालू अवस्थाको कम्पनीले २०५२ सालमा खुल्ला प्रतिस्पर्धाबाट बाँसवारी छालाजुत्ताको शेयर खरिद गरेको थियो । तत्कालीन सरकारले खुल्ला बजारको अर्थनीति अनुसार बिक्रीमा राखेको शेयर खुल्ला प्रतिस्पर्धाबाट लिएको तथा सोही कम्पनीको सम्पत्तिको रुपमा उक्त जमिन रहेको चौधरीले प्रष्ट्याए ।

लगानी सम्मेलनको मुखमा निजी क्षेत्रका अगूवाहरुलाई छानिछानि सिध्याउने षड्यन्त्र भएको चौधरीले आरोप लगाएका छन् ।

कांग्रेस सांसद सुनील शर्माले कडा प्रतिक्रिया दिँदै अरुण चौधरीको गिरफ्तारी प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठको डिजाइनमा भएको बताए ।

उनले भने, राम्रो ढंगले हेर्नुभयो भने मिनबहादुर गुरुङको गिरफ्तारीदेखि अहिलेसम्म ठूला ठूला उद्योगपति र ठूला घरानाहरुलाई ह्यारेस गरेर अन्डरटेबल डिल गर्ने प्रचण्ड र नारायणकाजीको डिजाइन देखिन्छ ।’

यो गिरफ्तारीको विरोधमा नेपाल उद्योग वाणिज्य महासंघले आन्दोलनका कार्यक्रम ल्याउन सक्ने उनले बताए ।
शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले प्रतिनिधि सभाका १० वटा विषयगत समितिको संयोजक तोकेको छ ।
जसमा अर्थ समितिको संयोजकमा रामनाथ अधिकारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नारायण खड्का, उद्योग वाणिज्य तथा श्रम रोजगार उपभोक्ता हितमा रमा कोइराला पौडेल, कानुन न्याय तथा मानवअधिकारमा नागिना यादव, कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिमा कुशुमदेवी थापा संयोजक तोकिएकी छन् ।

त्यसैगरी महिला तथा सामाजिक मामिला आशा विक, राज्य व्यवस्था सुशासन समितिमा दीलेन्द्र प्रसाद बडू, पूर्वाधार विकास समितिमा दिनेशकुमार यादव, शिक्षा स्वास्थ्य तथा सूचनामा लिलादेवी बोकिम र सार्वजनिक लेखा समितिमा श्यामकुमार घिमिरे संयोजक तोकिएका छन् । पार्टी विधान अनुसार समावेशिताको सिद्धान्तअनुसार संयोजक तोकिएको नेता लेखकले जानकारी दिए ।
त्यस्तै कांग्रेस संसदीय दलको कार्यसमितिको निर्वाचन गर्ने निष्कर्षमा पुगेको छ ।

Photo : File

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?