Butwal Today

व्यवस्थाका हाइज्याकरहरूको अन्त्य गरेपछि देश बन्छ : लामिछाने

११ माघ २०८०, बिहीबार
अ+
अ-

बुटवल,११ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राज्यका निकायहरूलाई स्वतन्त्रतापूर्वक काम गर्न दिने सर्वदलीय सहमति गरेको दिनदेखि देश बन्न सुरु हुने बताएका छन्।

संविधानले परिकल्पना गरेको समाजका लागि, आवश्यक कानुन बनाउन सिङ्गो संसदले सर्वदलीय प्रतिबद्धता गरेको दिन देश सुमार्गमा हिँड्न सुरु हुने उनको दाबी छ।

‘‘मिडिया र सोसल मिडियामा कसैलाई फसाउन वा बचाउन कोही दिनरात नाङ्गो भइरहनु पर्दैन। आफूमाथि प्रश्न उठ्दा आँखा जुधाएर सामना गर्ने हिम्मत आफैँ गरौँ,तलबी सेना अफ बिटमा ननचाऔँ। फेस गरौँ, फेस नलुकाऔँ’, फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्।

‘‘व्यवस्थाका केही हाइज्याकरहरूलाई चुनावबाट हराउन आँट गरे मात्र पुग्छ। नागरिकका अधिकार बीचमा बसेर लुट्ने र हाइज्याकरको रक्षाका लागि दिनरात खट्ने ८–१० थान मतियार (न्यारेटिभ सेटर) हरूले लामो छुट्टी लिए, सामाजिक संजाल पनि अझ इन्ट्रेस्टिङ बन्थ्यो। स्वाद र सुविधाअनुसार गलत ज्ञान पेलेको पेल्यै,पेलेको पेल्यै,पेलेको पेल्यै पनि नगरौँ, देश बन्छ’, उनले लेखेका छन्।

उनले देश बन्छ तर कहिले बन्छ त भन्दा, हाइज्याकरहरूको अन्त्य चुनावबाट गरेपछि मात्रै बन्ने बताए।