Butwal Today

कर्णालीमा मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिकमा मात्रै मासिक झण्डै पाँच लाख खर्च

१० माघ २०८०, बुधबार
अ+
अ-

सुर्खेत ।

कर्णाली प्रदेशसँग आफ्नो कुनै खास आर्थिक स्रोत छैन । तर, यहाँका मुख्यमन्त्री, मन्त्रीहरुको सेवा सुविधा भने निकै आकर्षक छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन अनुसार मुख्यमन्त्रीले मासिक ७० हजार ७३० रुपैयाँ र मन्त्रीहरुले ६० हजार ३२० रुपैयाँ पारिश्रमिक पाउँछन् ।

त्यसो त ०७८ फागुनभन्दा अघि मुख्यमन्त्रीको मासिक तलब ६० हजार ९७० र मन्त्रीहरुको ५३ हजार रुपैयाँ थियो । तर, तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले सेवा सुविधा बढाए । ०७८ फागुन २५ को मन्त्रिपरिषद् निर्णय अनुसार चैत ३० गते प्रदेश राजपत्रमा नयाँ पारिश्रमिक सार्वजनिक गरिएको थियो ।

राजकुमार शर्मा नेतृत्वको कर्णाली सरकारमा ७ जना मन्त्री छन् । मुख्यमन्त्रीको मासिक पारिश्रमिक ७० हजार ७३० रुपैयाँ र ६० हजार ३२० रुपैयाँका दरले ७ मन्त्रीको मासिक पारिश्रमिक ४ लाख २२ हजार २४० गरी मासिक ४ लाख ९२ हजार ९७० रुपैयाँ मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिकमा मात्र खर्च हुने गरेको छ ।

अतिरिक्त सुविधा कसलाई कति ?

कर्णालीका मुख्यमन्त्रीले मासिक पारिश्रमिकका अतिरिक्त आवास, सवारी साधन, इन्धन, अतिथि सत्कार, भ्रमण भत्ता, सञ्चार सुविधा लगायतमा पनि रकम प्राप्त गर्दछन् । मुख्यमन्त्रीलाई अतिथि सत्कारका लागि मासिक २० हजार रुपैयाँ उपलब्ध गराइन्छ । विदेश भ्रमणमा मुख्यमन्त्रीले दैनिक २५० अमेरिकी डलर पाउने व्यवस्था छ ।

मन्त्रीहरुले पनि आवास सुविधा, सवारी साधन, इन्धन सुविधा प्राप्त गर्दछन् । मन्त्रीहरुलाई अतिथि सत्कार बापत मासिक १५ हजार उपलब्ध गराउने व्यवस्था ऐनले गरेको छ । मन्त्रीहरुले विदेश भ्रमणका क्रममा दैनिक २ सय अमेरिकी डलर पाउने व्यवस्था छ ।