Butwal Today

जुभुङ गाउँका घरघरमा खानेपानी

९ माघ २०८०, मंगलवार
अ+
अ-

गुल्मी, ९ माघ । गुल्मीको गुल्मीदरबार गाउँपालिकामा एकै पटक दुईवटा खानेपानी आयोजना सम्पन्न गरिएको छ । गाउँपालिकाको वडा नं. २ को जुभुङ्मा सुर्योदय खानेपानी तथा सरसफाई योजना र काभ्रेपोखरीमा ठूलाखोला काभ्रेपोखरी खानेपानी तथा सरसफाई आयोजना सम्पन्न गरिएको हो ।

गुल्मीदरबार गाउँपालिका, ट्रीट्स परियोजना र स्थानीय समुदायको संयुक्त लगानीमा निर्मित खानेपानी योजनाको गाउँपालिका अध्यक्ष सरोज कुमार थापा र बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले संयुक्त रूपमा उद्घाटन गरेका हुन । खानेपानी आयोजना निर्माण र संचालनमा सामाजिक परिचालनको काम नवप्रभात युवा संघले गरेको थियो ।
सुर्योदय खानेपानी तथा सरसफाई योजना जुभुङ्ग कुल ८० लाख १६ हजार ४ सय ३१ रूपैयाँमा सम्पन्न भएकोमा गुल्मीदरबार गाउँपालिकाले ५१ लाख १७ हजार ४ सय ६, ट्रीट्स परियोजनाले २३ लाख ४५ हजार २ सय ३५, समुदायको २ लाख र जनश्रमदान ३ लाख ५३ हजार ७ सय ९० रूपैयाँ लगानी रहेको छ ।

त्यस्तै ठुलाखोला काभ्रे पोखरी खानेपानी तथा सरसफाई योजना १ करोड ५२ लाख ८० हजार २ सय ९८ रूपैयाँमा सम्पन्न भएको हो । सो योजनामा गाउँपालिकाको ९७ लाख ८३ हजार ६ सय ७३ रूपैयाँ, ट्रीट्स परियोजनाको ४४ लाख ८७ हजार ३ सय ७५ रूपैयाँ, समुदायको नगद योगदान ५ लाख ९ हजार र समुदायको श्रमदान ५ लाख २ सय ५० बराबर लगानी रहेको थियो । लामो समय पानी बोक्न समय खर्चिनुपर्ने बाध्यतामा रहेको त्यस क्षेत्रका समुदायहरू यतिबेला घरघर पानी आएपछी खुशी भएका छन् ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले सिंगो पालिका भित्र खानेपानी समस्या समाधान गर्दै एक घर एक धारा पुराउने बताएका थिए भने निर्देशक ढकालले आयोजनाको दिगोपना, थप उर्जा मार्फत आयआर्जनका माध्यम संग जोड्न स्थानीयले गरेको आग्रहलाई आफुले सकारात्मक रूपमा लिएको बताए ।

कार्यक्रममा रिन्युएवल वल्र्डका राष्ट्रिय निर्देशक ठाकुर थापा, नवप्रभात युवा संघका जिल्ला संयोजक धातानन्द भुसाल, युनिका फाउन्डेसनका नेपाल प्रतिनिधि रमेश पौडेल, निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, वडा नं. २ का अध्यक्ष बिष्णु गौतम, जनप्रतिनिधि, सामाजिक व्यक्तिहरू, उपभोक्ता समिती, उपभोक्ता लगायतको सहभागिता रहेको थियो । आयोजनाबाट बिधालय, स्वास्थ्य चौकी, आमा समूह लगायत १ सय ४० घरधुरी लाभान्वित भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?