Butwal Today

सहिद नारायण पोखरेल क्याम्पसद्वारा निःशुल्क स्वास्थ्य शिविर

७ माघ २०८०, आइतबार
अ+
अ-

सैनामैना, ७ माघ ।

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ६ मा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसले निःशु्ल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । क्याम्पसले आफ्नो सामाजिक उत्तरदायित्व अनुरुप सो कार्यक्रम गरेको क्याम्पस प्रमुख हेम बहादुर थापाले बताए ।

सहिद नारायण पोखरेल रामापुर क्याम्पसको आयोजना र साझा हस्पिटल प्रालि बुटवल र साझा स्याटेलाइट पोलिक्लिनिक प्रालि सैनामैनाको सहआयोजना र गैडहवा गाउँपालिका वडा नं. ८ र ९ को विशेष सहयोगमा शिविर आयोजना गरिएको थियो ।

कार्यक्रममा गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौड्यालले पालिकाका नागरिकको स्वास्थ्य उपचारका लागि यस्तै विभिन्न सङ्घ संस्थासँग हातेमालो गर्दै अगाडि बढेको बताउँदै जनताको स्वास्थ्य लाभका लागि अस्पताल, बर्थिङ सेन्टर लगायतका धेरै कामहरु अगाडि बढाएको बताए ।

कार्यक्रममा बोल्दै साझा हस्पिटल प्रालि बुटवलका अध्यक्ष गोविन्द खनालले अस्पतालले व्यावसायिकता मात्र नहेरी जनताको स्वास्थ्य परीक्षण गरी स्तर उकास्ने धेय बोकेर हिंडेको बताए ।

यस्तै वडा नं. ८ र ९ का अध्यक्ष भुवन राना र मिना थापाले वडाका योजनामा रहेका काम क्याम्पससँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताउँदै क्याम्पस र अस्पताल परिवारलाई आफ्नो वडा रोजेकोमा धन्यवाद दिए ।

शिविरमा १५१ जना नागरिकले सेवा लिएका थिए । जसमध्ये सबैभन्दा बढी स्त्रीरोग सम्बन्धी विरामी भेटिएको र उनीहरुलाई औषधी पनि बितरण गरिएको छ ।

कार्यक्रममा गैंडहवा गाउँपालिका उप प्रमुख माधुरी जैसवाल, पुर्व क्याम्पस प्रमुख दिनेश पन्थी, सह प्राध्यापक प्रकाश आचार्यलगायतले पनि आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रम गैडहवा ९ समावेशी टोलमा रहेको वडाको सामुदायिक भवनमा सम्पन्न भएको हो ।