Butwal Today

बिदा मनाउन चन्द्रागिरि जाँदा अस्ताए सासु–ससुरासहित ज्वाइँ, नाती र नातिनी

२८ पुष २०८०, शनिबार
अ+
अ-

काठमाडौं, २८ पुस ।

चन्द्रागिरी दुर्घटनामा मृत्यु हुने पाँचै जना एकै परिवारका भएको खुलेको छ । दुर्घटनामा परी सासु ससुरासहित, ज्वाईं, नाती र नातिनीको मृत्यु भएको हो । डा महेशकुमार गौतमको परिवार बिदा मनाउन शनिबार चन्द्रागिरी जाँदै थियो । तर चन्द्रागिरी दर्शन गर्न नपाउँदै दुःखद दुर्घटना भयो ।

६ वर्षीया छोरी र ४ वर्षीय छोरा सहित बिदा मनाउन हिँडेकामध्ये डा. गौतमकी श्रीमती बाहेक अन्य पाँच जनाले नै दुःखद मृत्युवरण गर्नपरेको हो।

दिउँसो झण्डै २ बज्न लाग्दा चन्द्रागिरि–४ स्थित हिमचुली सेतो पहिरामो परिवार नै सवार गाडी (कार) दुर्घटना भयो। दुर्घटनामा डा. गौतमसहित उनकी सासु ६४ वर्षीया कल्पना तिवारी, ६७ वर्षीय ओमकार निधि तिवारी, छोरी ६ वर्षीय स्मारिका गौतम र ४ वर्षीया प्रियान्स गौतमको निधन भएको छ।

सोही दुर्घटनामा परेकी डा. गौतमकी श्रीमती डा. सुष्टि तिवारी गौतम भने सकुसल रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार काठमाडौँबाट चित्लाङतर्फको सडकखण्डमा निधन भएका सो परिवार सवार गाडी अनियन्त्रित भइ ५ सय मिटर तल खसेको थियो।

डा. गौतमका सासु–ससुरा काठमाडौँको मैतिदेवीका वासिन्दा हुन्। छोरी–ज्वाँइसँग शनिबार घुमघाम गर्न हिँडेका उनीहरूमाझ यो विपत्ति आइपर्छ भन्ने कल्पना सम्म पनि थिएन।

नातिनातिनासँग जिस्कँदै छोरी–ज्वाइसँग उमंग बोकेर हिँडेका उनीहरू सेतो पहराको भिरमा अस्ताएका छन्।

प्रहरीका अनुसार डा. गौतमको परिवार भने काठमाडौँको लाजिम्पाटमा बस्दै आएको थियो।

एकै अस्पतालमा कार्यरत थिए चिकित्सक दम्पत्ती
महेशका श्रीमान् श्रीमती नै चिकित्सक हुन्। उनीहरू दुवैजना एउटै अस्पतालमा काम गर्छन्। ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा कार्यरत उनीहरू शनिबार परिवार बोकेर चन्द्रागिरि घुम्न गएका थिए।

जन्म दिने बुवा–आमा, कर्म दिने श्रीमान् र भविष्य बोकेका कलिला छोरा–छोरी आफ्नै आँखा अगाडी गुमाएर अस्पतालको बेडमा पुगेकी छिन्, डा. सृष्टि तिवारी गौतम।

चिताएको पूरा हुने विश्वाससहित चन्द्रागिरिको भालेश्वर मन्दिर हिँडेकी सुष्टि सेतो पहराको भीरमा परिवार गुमाउँदा आफू मात्रै बाँचेकी हुन्।

प्रहरीले अहिले शवहरू पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगेको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।