Butwal Today

आजको मौसमः तराईका अधिकांश भूभागमा हुस्सु

२७ पुष २०८०, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। यतिबेला (शुक्रबार बिहान) कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने तराई मधेशका अधिकांश भूभागमा हुस्सु रकुहिरो लागेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुने छ। देशका बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज राति कर्णाली, सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ भने शनिबार गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र  कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ।

केही प्रदेशमा मौसम बदली भए पनि आज र भोलि कतै हिमपात र वर्षाको सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तराई मधेशको भूभागका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायात सेवामा प्रभाव पर्न सक्ने अनुमान महाशाखाले गरेको छ।

त्यसबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ।