© 2026
कपिलवस्तु, २३ पुस । कपिलवस्तुको सगरहवामा १५ दिने राष्ट्रिय मूर्तिकला कार्यशाला हुने भएको छ । कार्यक्रमको मुख्य आयोजक रहेको लुम्बिनी बिकास कोषले सगरहवामा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो । पुस २३ गते शुरु भई माघ ८ गते सम्म १५ दिन चल्ने कार्यशालामा १५ जना राष्ट्रिय र अन्तर्राष्ट्रिय ख्याती प्राप्त मूर्तिकार तथा १५ जना सहयोगी मूर्तिकार गरि ३० जना मूर्तिकारले ढुङ्गामा मूर्ति कुद्ने छन् ।
कार्यशालामा कपिलवस्तु र रूपन्देहीबाट ल्याईएका २२ वटा ढुङ्गाबाट १५ वटा मूर्ति बनाईने छ । शाक्य गणराज्यको उत्थान र पतनको झल्को दिने गरि नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका मूर्तिकारले ढुङ्गामा मूर्ति कुद्ने छन । सगरहवा बुद्धकालिन समयमा शाक्यहरूको सामुहिक बध गरेको स्थान हो । कोशल नरेश बिडुडभले तत्कालिन शाक्यराजा महानव शाक्य माथी आक्रमण गरेको बेलाको र बक्रमखतियाको बिवाहको कथालाई चित्रण गर्ने गरि मूर्ति तयार पार्ने आयोजकको योजना छ ।
मूर्ति निर्माणका लागी सानो आकार देखी १ फुट सम्मका मूर्तिको प्रतिक (म्याकेट) छनौट गरिएको आयोजकले जनाए । सहभागी हुने मूर्तिकारले २३ गते बिहान म्याकेट अनुसारको उपयुक्त ढुङ्गा छनौट गरि मूर्ति कुद्न शुरु गर्ने छन । त्यसैगरि स्थानियका लागि निर्माण गरिने मूर्तिको म्याकेट प्रदर्शन गरिने छ । हजारौं शाक्यहरूको बध गरिएको स्थान सगरहवाको पुरातात्विक महत्वलाई झल्काउने गरि मूर्ति निर्माण गर्ने गरि कार्यशाला सञ्चालन हुन थालेको कार्यशाला निर्देशक समितीका संयोजक समेत रहेका लुम्बिनी बिकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए । सगरहवा पुरातत्व बिभागले संरक्षण गरेको क्षेत्र हो । तर कार्यशालाका लागि कोषले बिभागसँग अनुमति लिएको छैन ।
सो बारे प्रतिक्रिया लिदा कार्यशाला संयोजक भट्टराईले पुरातात्व बिभागको एचआईए गर्ने कार्यबिधिको अभावमा गत बर्ष अनुमती नपाउदाँ कार्यशाला स्थगित गरिएको उनले जनाए । हरेक बर्ष कार्यशाला स्थगित गर्न उपयुक्त नभएकाले बिभाग सँग मूर्तिका कारण ऐतिहासिक तथ्यमा प्रभाव पार्ने अवस्था आए ति मूर्ति अन्यत्र सार्ने समझदारीका आधारमा कार्यशाला गर्न थालिएको उनले स्पष्ट पारे ।
कपिलवस्तुको सगरहवामा प्रतिष्ठान सँग जोडिएर देशमै १३ औं कार्यशाला आयोजना हुन थालेको नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका मूर्तिकला बिभागका प्रमुख दिनेश्वर महतोले जानकारी दिए । मूर्तिकारले निर्माण गर्ने मूर्ति कलात्मक र शन्देशमुलक रहने उनले बताए । बिज्ञ समितिको सल्लाहमा कार्यशालाका लागी प्रतिष्ठानले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा ख्याती कमाएका मूर्तिकार चयन गर्ने उनको स्पष्टोक्ति थियो । लुम्बिनी बिकास कोषले लुम्बिनी पछि कपिलवस्तुका पुरातात्विक क्षेत्रलाई महत्वमा राखेर कार्य गर्दै आएको लुम्बिनी बिकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए । तिलौराकोटलाई बिश्व सम्पदा सुचिमा नामाङ्कन गर्ने प्रक्रिया अन्र्तगत नोमिनेशन ड्रोसियर युनेश्कोमा पठाउने तयारीमा पुगेको उनले जानकारी दिए । “नोमिनेशन ड्रोसियरको अन्तिम ड्राफ्ट तयार भएर मन्त्रीस्तरको सिफरिसमा पुरातत्व बिभाग मार्फत युनेश्कोको बिश्व सम्पदा समितीमा पठाउने तयारी पुरा भएको छ ।” सदस्य चिव शाक्यले भने । उनले कपिलवस्तुलाई कोषले ध्यान दिएको उदाहरण स्वरूप अहिले कुदानमा संरक्षणका कार्य सँगै पैदल यात्राका लागि वाक वे निर्माण भएको उनले बताए ।
कला कार्यशालाबाट मूर्ति निर्माण पछि सो क्षेत्रमा पार्कको बिकास गर्नु पर्ने लुम्बिनी प्रदेश सरकारका सदस्य बिष्णु पन्थीले बताए । निर्मित पार्कको संरक्षण स्थानिय सरकारको पालिका र वडाले गर्नु पर्नेमा उनले जोड दिए । पत्रकार सम्मेलनमा कपिलवस्तु र रूपन्देहीका पत्रकारहरूको सहभागीता रहेको थियो । पुरातात्विकस्थल सगरहवा कपिलवस्तु नगरपालिकाको वडा नं. ९ को जगदिशपुरमा रहेको छ ।