Butwal Today

देवदहमा डाइभर्सनमा खसेर बिटिआइमा अध्ययनरत विद्यार्थीको मृत्यु

२२ पुष २०८०, आइतबार
अ+
अ-
देवदह ।
बुटवल-खैरेनी सडकखण्डको डाइभर्सनमा खसेर देवदहका २२ वर्षे युवकको ज्यान गएको छ । आइतबार बिहान देवदहको घोडाहा जंगल क्षेत्रको सडक डाइभर्सनमा भएको स्कुटर दुर्घटनामा परी देवदहको वनकित्तामा बस्ने युवक निराजन श्रीषको मृत्यु भएको देवदह प्रहरी चौकीका इञ्चार्ज डाक्टर प्रसाद चौधरीले जानकारी दिए ।

बिहान ७:३० को समयमा लु ६७ प ७००४ नम्बरको स्कुटरमा देवदहबाट बुटवल जानेक्रममा भलुही जंगलक्षेत्रको सडकमा बनाईएको डाइभर्सनमा झुक्किएर स्कुटर सिधै जादा खाल्डोमा खसेर युवकको ज्यान गएको प्रहरीले जनाएको छ । चिप्लो सडक वा बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुनसक्ने प्रहरी अनुमान छ  ।

गुल्मीको भार्से स्थायी घर भएका उनी देवदहमा बसेर बुटवलको बिटीआईमा अध्ययन गरिरहेका थिए ।

दुर्घटनापछि उपचारको लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पुर्याउंदा चिकित्सकले उनलाई मृतक घोषणा गरेको जनाईएको छ ।

लामो समयदेखि निर्माणाधिन अवस्थामा रहेको बुटवल खैरेनी सडकखण्डमा निर्माण कम्पनीले जथाभावी डाइभर्सन निर्माण गर्ने, आवश्यक ट्राफिक चिन्ह सडकमा व्यवस्थित नगर्ने तथा धुलो नियन्त्रण गर्न प्रयोग गरिने पानीको कारण सडक चिप्लो हुँदा दुई पाङ्ग्रे सवारीहरू अत्यधिक चिप्लिने र दुर्घटना हुने भैरहेको छ ।

सडक विभाग, देवदह नगरपालिका र निर्माण कम्पनीले नागरिकको जीवनसंग सम्बन्धित यस प्रकारका लापरवाही र जटिलताहरूलाई समयमै समाधान गर्न  आवश्यक छ ।