Butwal Today

सर्वोच्चको आदेश कार्यान्वयनमा अस्पतालका मेसुको असहयोग

१८ पुष २०८०, बुधबार
अ+
अ-

बुटवल, १८ पुस । लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयनमा असहयोग गरेका छन् । लुम्बिनी प्रदेश सरकारले अस्पताल बिकास समिति खारेज गरी नयाँ नियुक्ति गरेको निर्णयलाई सर्वोच्च अदालतले तत्काल कार्यान्वयन नगर्न अल्पकालिन आदेश दिए पनि उक्त आदेशको बेवास्ता गर्दै मेसु थापाले अध्यक्ष अजयमान श्रेष्ठलाई असहयोग गरेका हुन् ।

श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले गरेका निर्णय कार्यान्वयन नगर्नू तथा पछिल्लो पटक अस्पतालमा जनशक्ति थप गर्नका लागि अध्यक्षलाई नै जानकारी नदिई सूचना प्रकाशन गरिएको घटनाले मेसू थापा एकलौटी रूपमा अघि बढेको कुरालाई जोड दिएको छ । अस्पतालमा स्टाफ नर्स नियुक्तिका लागि यही पौष ११ गते जारी सूचना बारे अस्पताल बिकास समितिका अध्यक्ष श्रेष्ठले त्यसप्रकारको जानकारी आफूलाई नभएको उल्लेख गरे ।

यसअघि अस्पतालको नियमावली विपरित मेडिकल सुपरिटेन्डेन्ट थापाले नर्सिङतर्फ १९, मेडिकल डाक्टर ८, फार्मेसीमा २, ल्याव र सुरक्षा गार्डमा २/२ जना कर्मचारी नियुक्त गरेका थिए । त्यस्तै गएको वैशाख ३ गते समेत स्टाफ नर्स र कार्यालय सहयोगीमा ४/४ जना नियुक्त गरेका थिए । यसरी नियम विपरित गरिएको निर्णय सच्चाउनु पर्ने भन्दै अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठको अध्यक्षतामा गत असोज १५ गते गरिएको निर्णयलाई समेत मेसु थापाले कार्यान्वयन गरेका छैनन् ।

असोज १५ को बैठकको निर्णय नम्बर ९ मा उल्लेख भएअनुसार ‘विमा/फार्मेशी तथा अस्पतालका विभिन्न विभागमा आवश्यक जनशक्ति प्रदेश सरकारले जारी गरेको करार कर्मचारी व्यवस्थापन कार्यविधि र अस्पताल विकास समिति नियमावली बमोजिम यथाशीघ्र करार पदपूर्ती प्रक्रिया अगाडि बढाउने भनी निर्णय गरिएको थियो ।

यी दुई घटनाले पनि मेसु थापा अदालतको आदेशलाई समेत अपमान गरेर अघि बढेको पुष्टी हुन्छ । लुम्बिनी प्रदेश सरकारले अस्पताल विकास समिति खारेज गरी नयाँ नियुक्तिको निर्णयलाई तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले २०८० मंसिर १९ गते अल्पकालिन आदेश जारी गरेको थियो । उक्त आदेश अनुसार लुम्बिनी प्रदेश सकारले नयाँ नियुक्ति गरेका लुम्बिनी अस्पताल बिकास समितिका अध्यक्ष जीवन वझाको पद गुमेको थियो भने अजयमान श्रेष्ठको अध्यक्ष पद पुनःबहाली भएको थियो । तर अदालतको उक्त आदेशलाई नजरअन्दाज गरेर मेसु थापाले एकलौटी रूपमा अघि बढ्ने गरेको आरोप लागेको छ ।

अस्पतालमा मेसु थापा हाबी हुन खोज्नुमा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री, स्वास्थ्य सचिव तथा मुख्यमन्त्रीको समेत साथ रहेको स्रोतको दाबी छ । लुम्बिनी प्रदेशका मुख्य न्यायधिवक्ता बुद्ध थापाले मेसु थापालाई आन्तरिक रूपमा बलियो साथ दिएर अध्यक्ष बिरुद्धको गतिविधिमा सहयोग गरेको स्रोतको दाबी छ ।

मेसु थापा मुख्य न्यायधिवक्ता बुद्ध थापाका भतिज हुन् । अदालतको आदेशपछि लुम्बिनी प्रदेशका अन्य अस्पतालहरूमा भने अध्यहरूको पुनः बहालीसँगै दैनिक कामकाजमा खटिएका छन् । यता मेसु थापाले यो विषयमा लेखेर स्ष्ट नआएको कारण काम अगाडी नढेको बताएका छन् ।