© 2026
प्रि—डिप्लोमा तहको ईन्जीनियरिङ्ग अध्ययन गर्ने विद्यार्थीको कोटामा विद्यार्थी अपुग भएपछि लुम्बिनी प्रदेशका प्राविधिक शिक्षालयले धमाधम प्राविधिक धारको कक्षा नै स्थगित गरेका छन् । लुम्बिनी प्रदेशमा प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (सिटीईभिटी) अन्तर्गतका प्राविधिक शिक्षालय पठनपाठन हुने शिक्षालयहरूले जम्मा ६५ प्रतिशत मात्रै विद्यार्थी भर्ना गर्न सकेका छन् । यति मात्रै होईन प्रि डीप्लोमा तर्फका कुल १ सय १० वटा शिक्षालयहरूले आफ्नो कार्यक्रम संचालन गरेका छन् भने ५१ वटा शिक्षालयले कार्यक्रम बन्द गरेका छन् । यसमा सबैभन्दा बढि बन्द हुनेमा कृषि तर्फ प्री डिप्लोमा तहको अध्यापन गराउने शिक्षालयहरू १३ वटाले कार्यक्रम छन् । कृषि तर्फको प्लान्ट साईन्स प्रि डिप्लोमा १३ वटाले कार्यक्रम स्थगीत गरेका छन् भने ३१ वटाले मात्रै चलाएका छन् । जसमा १२४० विद्यार्थी भर्ना हुने क्षमता रहेपनि जम्मा २ सय १४ विद्यार्थी शैक्षिक सत्र २०७९/८० मा भर्ना भए । भेट साईन्सतर्फ पनि ४०० जना विद्यार्थी कोटा रहेकोमा जम्मा ९८ जना मात्रै छन् ।
यो अवस्था सिभिल ईन्जीनियरिङ्ग तर्फ पनि ९ सय २० जना विद्यार्थी क्षमता भएपनि जम्मा २ सय ५२ ले मात्रै पढेका छन् । सर्भे ईन्जीनियरिङ्ग तर्फ पनि ८ वटा कार्यक्रम बन्द छ भने ९ वटामा ३६० जना विद्यार्थी पढ्न पाउने कोटा रहेकोमा १७६ जना मात्रै विद्यार्थी पढिरहेका हुन । कम्प्युटर ईन्जीनिरिङ्ग तर्फ पनि ७ वटा ले कार्यक्रम बन्द गरेका छन् । जसमा कुल ३६० विद्यार्थी बढ्न पाउनेमा १८३ जनाले मात्रै पढिरहेका छन् । शैक्षिक सत्र २०७९/८० मा कुल भर्ना क्षमता ४ हजार ५ सय ६० जना विद्यार्थी रहेपनि १५ सय ८८ जना विद्यार्थीले प्राविधिक धारको शिक्षा आर्जन गरेको पाइएको छ । डिप्लोमा तर्फ पनि कुल १९० शिक्षालयले कार्यक्रम चलाएकोमा १०२ ले त कार्यक्रम बन्द गरिसके । डिप्लोमा तर्फ ७ हजार ९ सय ९० जना विद्यार्थी भर्ना गर्न सकिने क्षमता भएपनि ४ हजार ३ सय ६८ जना मात्रै भर्ना भए ।
शिक्षालयहरूले प्राविधिक धारतर्फ पनि विद्यार्थी नपाउनु शिक्षा क्षेत्रमा देखिएको दुखद अवस्था हो । यसले नकारात्मक संकेत देखाएको छ । प्राविधिक शिक्षापछि स्वरोजगार भन्दा जागिरकै आश गर्नु तर स्वेदशमा जागिरका अवसरहरू नपाउनु, स्वरोजगार गर्न चाहनेलाई सरकारबाट सहयोग नहुनु, साधन स्रोतको अभाव हुनु, सबै वर्गका यूवालाई अवसर नहुनु, जनशक्तिको प्रक्षेपणवीना प्राविधिक शिक्षाका शैक्षिक कार्यक्रम चलाउनु, यूवा वर्गमा विदेश तर्फको मोह बढ्नु, गुणस्तमा ख्याल नगरिनु, म्यापिङ वीना प्राविधिक शिक्षालय खोलिनु लगायतका छन् । यसर्थ सिधा रूपमा प्राविधिक शिक्षामा देखिएको विद्यार्थी अभावको समस्याका कारण एकल छैनन् । यससँगै जोडिएर विषयहरू छन् । यसको समाधानका लागि सरकारले प्राविधिक शिक्षाको विषयमा अध्ययन र समिक्षा गर्न जरुरी छ । स्वरोजगार बनाउने कि रोजगारी दिने भन्ने विषयलाई टुङ्याउनुपर्छ । त्यस अनुसार नीति, योजना, कार्यक्रम र बजेटको व्यवस्थापन गर्नुपर्छ । प्राविधिक शिक्षाको सैद्धान्तिक पक्षले मात्रै प्राविधिक शिक्षा कदापी सफल हुन सक्दैन् ।