Butwal Today

उड्नै लाग्दा बुद्ध एयरको विमानको आपत्‌कालीन ढोका खोल्ने यात्रु पक्राउ

५ पुष २०८०, बिहीबार
अ+
अ-

पोखरा ।

आज (बिहीबार) बिहान पोखराबाट काठमाडौँ उड्न लागेको बुद्ध एयरको विमानको इमर्जेन्सी ढोका यात्रुले अचानक खोलिदिएपछि उडान रद्द गरिएको छ।

बुद्ध एयरका पोखरा प्रमुख गौतम बरालका अनुसार बिहान ९ बजे उडान नम्बर ६५२ को जहाजले सबै यात्रु चढाई सबै ढोका बन्द गरेर उड्न तर्खर गर्दा एक यात्रुले जहाजको इमर्जेन्सी ढोका एकाएक खोलिदिएका थिए।

गौतमका अनुसार भीम परियार  नामका यात्रु जहाजको  १– सी–डी अर्थात् इमर्जेन्सी ढोका भएको सिटनेर बसेका थिए। उनले आपत्‌कालीन ढोका खोलेपछि उडान रद्द गरिएको र यात्रुहरुलाई अर्को जहाजबाट काठमाडौँ पठाइएको गौतमले बताए।

‘इमर्जेन्सी ढोका खुलेपछि उडान रद्द गरिएको छ। उहाँ (भीम परियार) ले जहाजमा यात्रु बोर्ड गरेर डोर लक गरेपछि इमर्जेन्सी ढोका खोलिदिनुभयो, जहाजमा वान सी र डी सिट हुन्छन्। सो सिट हामी वृद्ध र  बिरामीलाई दिँदैनौँ। केही भइहाल्यो खोल्नपर्ने ढोका हो। उहाँले खोलिदिनुभयो, उडान रोकियो’, गौतमले भने, यात्रुलाई अर्को विमानबाट पठाइयो। एक घण्टा ढिला भयो। अब त्यो जहाजचाहिँ इन्जिनियरले परीक्षण र उडानका लागि ठीक छ भनेपछि मात्र उडाउने हो, जहाजमा प्राविधिक समस्या आएको हैन। यात्रुचाहिँ अहिले प्रहरी नियन्त्रणम हुनुहुन्छ।’