Butwal Today

गुरूङ हुँ म मिसेज गुरूङ माङीको उपाधि मोतिपुरकी रिमा क्रोम्जो गुरूङलाई

२ पुष २०८०, सोमबार
अ+
अ-

बुटवल, २ पुस ।

गुरूङ हुँ म मिसेज गुरूङ माङीको उपाधि मोतिपुरकी रिमा क्रोम्जो गुरूङले हात पारेकी छन् । रूपन्देही जिल्लाभित्रका १५ जना प्रतिष्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् ।

तमु ह्युल छोज धि गुरूङ राष्ट्रिय परिषद बुटवल उपमहानगरको आयोजनामा भएको सो प्रतियोगितामा सम्झना गुरूङ फस्ट रनरअप भएकी छन् भने गौमाया गुरूङ सेकेन्ड रनरअप हुन सफल भएकी छन् । सो प्रतियोगितामा रूपन्देही जिल्लाभित्रका २७ वटा इकाईबाट गुरूङ आमाहरूले प्रतिष्पर्धा गरेका थिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालले गुरूङ समुदायका महिलाहरुलाई यसले प्रेरित गरेको बताइन् ।

उनले महिलाहरुको नेतृत्व विकासमा समेत यसबाट टेवा पुगेको भन्दै महिला समानतालाई समेत यसले उजागर गरेको बताइन् ।

अर्यालले नगरका हरेक समुदायको भाषा, कला, संस्कृति संरक्षणका लागि नगर सधै सकारात्मक रहेको बताउँदै यसका लागि बजेट पनि छुट्टयाएको प्रष्ट पारिन् ।

तमु ह्युल छोज धि गुरूङ राष्ट्रिय परिषद जिल्ला कार्य समिति रूपन्देहीको संरक्षकत्व रहेको प्रतियोगितामा १६ जना प्रतिष्पर्धीहरूले फाइनल राउन्डको लागि प्रतिष्पर्धा गरेका थिए ।

गत महिनादेखि सुरु भएको प्रतिष्पर्धाको फाइनल राउन्डमा निर्णायकहरू धनबहादुर गुरूङ, मनु गुरूङ र ठाकुर जंग गुरूङ रहेको परिषद्ले जनाएको छ ।

कार्यक्रममा परिषदका उपाध्यक्ष वीर बहादुर गुरूङले नेपाल भौगोलिक र सांस्कृतिक रुपले सम्पन्न भएको बताउँदै सबै जातजातिको आ आफ्नै विशेषता र संस्कृति रहेको बताएका थिए ।

कार्यक्रममा झपट बहादुर गुरुङ्ग, विमला गुरुङ, माङी अध्यक्ष जुनमाया गुरुङ, रस बहादुर गुरुङ्ग, मनिराज गुरुङलगायतले पनि आ आफ्नो धारणा राखेका थिए ।

त्यस्तै तमु ह्युल छोज धि गुरूङ राष्ट्रिय परिषद बुटवल उपमहानगर समिति बुटवल रूपन्देही अध्यक्ष उमा गुरूङले यस्ता कार्यक्रमले संस्कति संरक्षण हुने बताइन् भने कार्यक्रमको संयोजन सुन्दर गुरूङले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?