© 2026
बुटवल, २८ मंसिर ।
नेपाली कम्युनिष्ट आन्दोलनका शिखर व्यक्तित्व एवं नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्म शताब्दी वर्षका अवसरमा सातवटै प्रदेशमा विचार गोष्ठीको आयोजना गरिने भएको छ ।
पुष्पलालका विविध विषय र क्षेत्रमा रहेका विशिष्ट योगदानहरुको स्मरण गर्ने हिसाबले देशव्यापीरुपमा विचार गोष्ठीहरु गर्न लागिएको हो । लुम्बिनी प्रदेशमा यही मंसिर ३० गते विचार गोष्ठी गर्न लागिएको एमाले लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरेले जानकारी दिए ।
पुष्पलाल नेपाल कम्युनिष्ट पार्टीका सस्थापक महासचिव हुन् । उनले अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको घोषणापत्रलाई पहिलो पटक नेपाली भाषामा अनुवाद गरेका थिए । पहिलो पटक नेपाली समाजको वर्ग विष्लेषण गरेको, नेपालको इतिहासलाई माक्र्र्सवादी दृष्टिकोणले प्रस्तुत गर्ने कामको प्रारम्भ गरेर इतिहास लेखनको जग बसालेकाले उनको योगदानलाई उजागर गर्न विचार गोष्ठी आयोजना गर्न लागिएको घिमिरेले बताए ।
“दर्शनका विषयमा पुष्पलालका योगदानहरु” विषयमा गर्न लागिएको गोष्ठीको आयोजना नेकपा (एमाले)े लुम्बिनी प्रदेश कमिटीले गर्नेछ भने विषयको प्रस्तुति “पुष्पलाल जन्मशताब्दी समारोह आयोजक समिति” द्वारा हुनेछ ।
गोष्ठीमा “पुष्पलाल जन्मशताब्दी समारोह आयोजक समितिका सदस्य गोपीरमण उपाध्यायले “दर्शनका विषयमा पुष्पलालका योगदानहरु” विषयक कार्यपत्र प्रस्तुत गर्नेछन् भने सो कार्यपत्रमाथि वामपन्थी चिन्तक, लेखक तथा नेताहरु क्रमसः कमल श्रेष्ठ, एकराज पाण्डे, बसन्त श्रेष्ठ, दिल साहनी, ऋषिराम भुसाल, निर्मल जीसीले टिप्पणी गर्नेछन् ।
समारोह समितिद्वारा आयोजना गरिने अन्य कार्यक्रमहरुमा पुष्पलाल जन्मशताब्दी स्मृति ग्रन्थ प्रकाशन, नेपालका सबै कम्युनिष्ट घटकहरुले पुष्पलालको सम्बन्धमा राखेका अवधारणहरु, देशभरिका विचार गोष्ठीहरुबाट प्राप्त कार्यपत्र, कार्यपत्रमाथिका पूरक विचार एवं गोष्ठीका विवरणहरु रहेका छन् ।
त्यस्तै पुष्पलालको जीवनसंग प्रत्यक्षरुपले संलग्न भएर काम गरेका कार्यकर्ताहरुको संक्षिप्त परिचयात्मक विवरण, देशव्यापीरुपमा पुष्पलालका नामबाट स्थापित सम्पूर्ण भौतिक सम्पदाहरुको परिचय, पुष्पलालको जीवनमा प्रत्यक्षरुपले संलग्न कार्यकर्ताहरुलाई सम्मानित गर्ने, आगामी असार १५ गते मूल समारोहमार्फत् पुष्पलाल जन्मशताब्दी स्मृति ग्रन्थ लोकापर्ण गर्ने कार्यक्रम समेत समारोह समितिले गर्ने छ ।