Butwal Today

एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको प्रदर्शन

१९ मंसिर २०८०, मंगलवार
अ+
अ-

बुटवल, १९मंसिर । एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले आज एनसेल कार्यालय अगाडि विरोध प्रदर्शन गरेको छ ।
लैनचौरस्थित एनसेल कार्यालयमा प्रदर्शन भएको हो । एनसेलको ८० प्रतिशत शेयर नेपाल बाहिरै बिक्री भएको थियो । अहिले सो विषय चौतर्फी रुपमा विवादित बनेको छ । प्रदर्शनमा सहभागीहरुले एनसेल बाइकट भन्दै सीमकार्ड समेत जलाएका छन् ।

यस्तै आज मंगलबार नै एनसेलको सर्वोच्च अदालतमा पूँजीगत लाभकरसम्वन्धी एउटा मुद्दाको सुनुवाइ हुँदै छ ।

ठूला करदाताको कार्यालयले एनसेलमाथि करिब ५७ अर्ब रुपैयाँ थप कर निर्धारण गरेपछि एनसेल सर्वोच्च गएको थियो ।

सर्वोच्चको पेसीभन्दा चार दिनअगाडि आजियटा एनसेलको शेयर बेचेर हिँडेको हो । अब उक्त मुद्दाबाट कम्पनी पन्छिएको छ । तर, यदि एनसेलको विपक्षमा फैसला आए के हुन्छ भन्ने स्पष्ट भएको छैन ।

आजियटाले २०७२ साल चैतमा एनसेलको ८० प्रतिशत शेयर १ अर्ब ३६ करोड ५० लाख डलर (करिब १ खर्ब ४३ अर्ब रुपैयाँभन्दा बढी ) मा स्वीडिस दूरसञ्चार जायन्ट टेलियासोनेरासँग खरिद गरेको थियो ।

यसरी खरिद बिक्री हुँदा कानूनबमोजिम सरकारलाई पूँजीगत लाभकर नतिरिएको भनेर सुरु भएको विवाद अहिलेसम्म पनि पूर्ण रुपमा समाधान हुन सकेको छैन ।

अहिलेसम्म करिब ४७ अर्ब रुपैयाँ पूँजीगत लाभकरका रुपमा तिरिसक्दा पनि मुद्दाबाट उम्किन नसकेपछि आजियटा निराश भएर हिँडेको हो ।