Butwal Today

गैरआवासीय नेपालीले पाल्पामा पाए नागरिकता

नेपालको संविधानमा भएको व्यवस्था अनुसार नेपाली नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० को अनुसूचि (८) को (ग) अन्तर्गत नागरिकता ऐन, २०६३ को दफा ७ (क) बमोजिम शर्त तथा अवस्था पुरा गरेकाले उनलाई नागरिकता प्रदान गरिएको हो ।
१५ मंसिर २०८०, शुक्रबार
अ+
अ-

पाल्पा, १५ मंसिर । जिल्लामा पहिलो पटक गैरआवासीय नेपालीलाई नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले तानसेन नगरपालिका –४ सिल्खानटोलका १९ वर्षीय फेलिक्स बज्राचार्यलाई गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो ।
बज्राचार्यलाई प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जिल्लामा पहिलो गैरआवासीय नागरिकता प्रदान गरेका हुन् । उनी विगत १८ वर्षदेखि आमा फ्रेडीरिके बुर्केट र बुवा सुमेध रत्न बज्राचार्यसँग जर्मनको कोनिगस्विन्टरामा बस्दै आएका छन् ।

नेपालको संविधानमा भएको व्यवस्था अनुसार नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० को अनुसूचि (८) को (ग) अन्तर्गत नागरिकता ऐन, २०६३ को दफा ७ (क) बमोजिम शर्त तथा अवस्था पुरा गरेकाले उनलाई नागरिकता प्रदान गरिएको हो । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको हातबाट जिल्लामै पहिलो गैरआवासीय नागरिकता लिन पाउँदा असाध्यै हर्षित भएको बज्राचार्यको भनाइ छ । उनले नागरिकता दिएकोमा जिल्ला प्रशासन कार्यालय पाल्पा र नेपाल सरकारलाई धन्यवाद समेत दिए ।

नेपालको नागरिकता ऐन २०६३ को तेस्रो संशोधन अन्तर्गत नेपाल नागरिकता नियमावली, २०८० जारी भएसँगै जिल्लामा पहिलो पटक गैर आवासीय नेपालीलाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताए । उनका अनुसार नागरिकता प्राप्त गरेसँगै बज्राचार्यले राजनीतिक बाहेकका आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने छन् । प्रजिअ बास्तोलाले भने ‘विदेशमा नेपालीपनको महसुुस गर्न पाउन र आर्थिक कुटनीतिक अन्तर्गत नेपालमा विदेशी लगानी भित्र्याउन गैरआवसीय नेपालीले पनि लगानीको वातावरण सिर्जना गर्न पाउन भन्ने उद्देश्यले गैरआवसीय नेपालीलाई नागरिकता दिन थालिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?