Butwal Today

गोपिचन्दलाई म्याराथनको उपाधि, हाफ म्याराथनमा सन्तोषीको ह्याट्रिक

नवौ संस्करणको धारा नेपालगंज म्याराथन २०२३
९ मंसिर २०८०, शनिबार
अ+
अ-

बुटवल, ९ मंसिर ।

नवौ संस्करणको धारा नेपालगंज म्याराथन २०२३ को उपाधि एपीएफका गोपीचन्द पार्कीले चुमेका छन । शनिबार भएको प्रतियोगितामा म्याराथन (पुरुष) मा २ घण्टा २१ मिनेट ३९ सेकेण्डमा दुरी पार गर्दै एपीएफका गोपिचन्द्र कार्कीले दोस्रो पटक उपाधि जितेका हुन् । जितसंगै उनले नगद २ लाख रुपैयाँ, कप, मेडल प्राप्त गरे । प्रतियोगितामा २ घण्टा २२ मिनेट ०९ सेकेण्डमा दुरी पार गर्दै खडक बहादुर खड्का दोस्रो भए । उनले नगद १ लाख रुपैयाँ तथा २ घण्टा २५ मिनेटमा दुरी पार गर्दै किरण सिह बोगटी तेस्रो बन्दै नगद ५० हजार रुपैयाँबाट पुरस्कृत भए । उनी गतवर्षका विजेतासमेत हुन् ।

प्रतियोगितामा २ घण्टा ३० मिनेट १८ सेकेण्डमा दुरी पार गर्दै सन्तोष विक्रम बिष्ट चौथो, मोहनदेव जोशी पाँचौ, प्रेम बहादुर बस्नेत छैटौ, शेर बहादुर बुढा सातौ, अजय बिक आठौ, रुद्र बुढाथोकीले नवौ स्थान हासिल गरे । प्रतियोगिताको चौथौले २५ हजार, पाँचौंले १५ हजार, छैटौंले १० हजार, सातौं र आठौंले समान ५÷५ हजारबाट पुरस्कृत गरिएको छ ।

यसैगरी हाफ म्याराथन (महिला) मा एपीएफकै सन्तोषी श्रेष्ठ (गोल्डेन गर्ल) ले तेस्रो पटक उपाधि आफ्नो नाममा गरिन् । उनले १ घण्टा २० मिनेट ५२ सेकेण्डमा दुरी पार गर्दै उपाधि हात पारिन् । फुलमति रानाले १ घण्टा २१ मिनेट ०९ सेकेन्डमा दुरी पार गर्दै दोस्रो तथा पुष्षा भण्डारी १ घण्टा २३ मिनेट ३५ सेकेन्डमा दुरी पार गर्दै तेस्रो भईन् ।

यसैगरी १० किलोमिटर पुरुषतर्फ ३१.२४ सेकेन्डमा दुरी पार गर्दै दुर्गा बहादुर बुढा प्रथम भए । यसैगरी ३१.३२ सेकेण्डमा दुरी पार गर्दै नेपाल आर्मीका नगेन्द्र राउत दोस्रो तथा ३७.१४ सेकेन्डमा दुरी पार गर्दै धर्म महर्जन तेस्रो भए ।

महिलातर्फ भने ३७ मिनेट १४ सेकेन्डमा दुरी पार गर्दै राममाया बुढा प्रथम भए । यसैगरी ३९. २४ सेकेन्डमा दुरी पार गर्दै आशा रावत दोस्रो तथा ४६ मिनेट ४५ सेकेण्डमा दुरी पार गर्दै मनसरा बुढा तेस्रो भए । यो समूहमा प्रथम, द्वितीय र तृतीयले क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपैयाबाट पुरस्कृत भए ।

यता ५ किलोमिटर कर्पोरेट दौडमा २२ मिनेट २७ सेकेण्डमा दुरी पार गर्दै योगेश मल्ल प्रथम भए । यसैगरी २४ मिनेट ०४ सेकेन्डमा दुरी पार गर्दै अल्ताहिम राही दोस्रो तथा २४ मिनेट ०२ सेकेन्डमा दुरी पार गर्दै डा आके लामिछाने तृतिय भए । बटल स्टार होटलले १५ हजार रुपैयाँको गिफ्ट हेम्पर वितरण गरे ।

यसैगरी बाँके विद्यालयस्तरीय ५ किलोमिटर दौडमा छात्रतर्फ १६ मिनेट १९ सेकेन्डमा दुरी पार गर्दै दिपेन्द्र बोहरा प्रथम भए । यसैगरी अजय पाण्डे १६ मिनेट ३५ सेकेन्डमा दुरी पार गर्दै द्वितीय र सरोज सिह १६ मिनेट ३७ सेकेन्डमा दुरी पार गर्दै तृतीय भए ।

छात्रातर्फ १९ मिनेट १६ सेकेन्डमा दुरी पार गर्दै कल्पना बुढा प्रथम भईन् । यसैगरी २० मिनेट १० सेकेन्डमा दुरी पार गर्दै विमला कार्की दोस्रो तथा २१ मिनेट १० सेकेन्डमा दुरी पार गर्दै मोतिकला डागी तृतीय भईन् ।

प्रतियोगितामा किड्स राउण्डको बोयजमा अभिशेष खड्का प्रथम, आयुष रावल दोस्रो भएका छन् । यसगरी गल्र्समा प्रथम कृति परियार, दोस्रो हिमानी बटाला भईन् । यो समुहमा विजेता, उपविजेता र तृतीय हुने ५ हजार, ३ हजार २ हजार रुपैया प्राप्त गरे । यसैगरी १० किलोमिटर दुरी पार गरेका फरक क्षमता भएका नवराज कार्किलाई मेडल वितरण गरिएको थियो ।

५ किलो मिटर ह्विल चेयर पुरुषतर्फ २१ मिनेट ३६ सेकेन्डमा दुरी पार गर्दै यज्ञ बहादुर खत्री प्रथम भए । यसैगरी रोहित कुमार तमोली दोस्रो तथा समसेर अलि मेहरा तेस्रो भए ।
महिलातर्फ २५ मिनेट १२ सेकेन्डमा दुरी पार गर्दै देउकुमारी थारू प्रथम हुँदै ५ हजार र श्यामकली थारु दोस्रो हुदै ३ हजार रुपैया प्राप्त गरिन् ।

एक कार्यक्रमका बिच केएल दुगडका निर्देशक सौरभ दुगड, सिईयो प्रदिप छाजेड, कर्णाली प्रदेशका मुख्यसचिव चुडामणि पौडेल, प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई, प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य नरेन्द्र थापा, कर्णाली प्रदेशका सदस्य सचिव बिएन सन्जेल, कोहलपुर नगरपालिका नगरप्रमुख पुर्ण प्रसाद आचार्य, नायक राजेश हमाल, मिस नेपाल श्रृच्छा प्रधान, नेपाल ओलम्पियन संघका अध्यक्ष दिपक बिष्ट, नायिका सुरक्षा पन्तले विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

यसअघि उदघाटन कार्यक्रममा नेपालगंज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्टले नेपालगंजको पहिचान दिलाउने रुपमा म्याराथन भएको बताए । खेलकुदको हबका रुपमा नेपालगंज म्याराथन बनाउने गरी बृहत् रुपमा चिनाउने गरी अघि बढ्न जरुरी रहेको उनले बताए । सबै उमेर समूहको सहभागिता रहेको म्याराथनमा स्थानीयको अपनत्व दिन सफल भएको बताए ।

कार्यक्रममा नेपाली चलचित्रका नायक राजेश हमालले उत्सवका रुपमा कार्यक्रम भएको बताए । सातौ म्याराथनबाट आफू भावनात्मक रुपमा जोडिएको भन्दै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालगंज शहरको पहिचान गराउन सफल भएको बताए । ‘नेपालगंज दौडिने नगरका रुपमा पहिचान बनाउन सफल भएको छ ।’— उनले भने ।

कार्यक्रममा टिएस ठकुरीले अन्तर्राष्ट्रिय स्तरमा म्याराथनलाई जोड्न आफुहरु सफल भएको बताए । प्रतियोगितामा कोर्ष ब्रेक गर्ने खेलाडीलाई लण्डन म्याराथनमा भाग लिने अवसरसमेत सृजना गरेको उनले बताए ।

नेपालगंज बिपि चोकबाट शुरु भएको म्याराथन कोहलपुर चौराहा पुगेर फर्किएको सकिएको थियो ।